काठमाडौं । काठमाडौंको चावहिलका खाद्यान्न पसलले झिँगा, किरा र साङ्ला मार्ने विषादी र खाद्यान्न सामाग्रीहरु एकै ठाउँमा राखेर विक्री गर्ने गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले अनुगमनका क्रममा यस्तो पाइएको जनाएको छ । अनुगमनका क्रममा महानगरका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नुपर्ने सामान राख्ने छुट्टै ठाउँ समेत व्यवस्थापन गरिएको छैन ।

व्यापारीले सोझा ग्राहकलाई झुक्याएर म्याद गुज्रिएका सामानहरु समेत विक्री गर्ने गरेका छन् । दालका रुपमा प्रयोग गरिने कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला कहिले कसले प्याकेजिङ् गरेको हो ? उपभोग्य मिति कहिलेसम्म हो ? त्यस्तो विवरण समेत अधिकांश पसलहरुले उल्लेख गरेका छैनन् ।

चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने गरेको पाइएको महानगरका कृषि विभागका प्रमुख हरि भण्डारीले जानकारी दिए । ‘यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको देखिएन । सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने देखियो,’ उनले भने ।

व्यापारीले उपभोक्ताको सोझोपनाको फाइदा उठाएर म्याद ग्रजुेका र अखाद्य सामाग्रीहरु समेत विक्री गरिरहेका छन् । महानगरले शनिबार र आइतबार चावहिलमा अनुगमन गरेको छ । केही होलसेल र खुद्रा पसलमा गरिएको अनुगमनमा उपभोक्ताले खरिद बिल समेत नलिने गरेका र व्यापारीले समेत नदिने गरेका पाइएको छ ।

चावहिल चोककै छेउमा एउटै पसलमा दुई वटा बोर्ड छन्, मजिन स्टोर र सावरिया होलसेल मार्ट । एउटा सटरमा बाहिरबाट हेर्दा सानो किराना पसल जस्तै देखिन्छ, तर यसका सञ्चालकले छेवैका दुई वटा घरमा दुई वटा फ्लाट लिएर सामान भण्डारण गरेका छन् ।

‘भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान एकै ठाउँमा छन् । भण्डारण गरिएका कोठामा सूर्यको प्रकाश छिर्दैन । भित्र अँध्यारो छ, पुतली उडिरहेका छन्, ढोका खोलेर भित्र छिर्दा केही गनाएको महसुस हुन्छ, गोदाम प्रमाणित गरेको छैन,’ बिभागका प्रमुख भण्डारीले भने । अनुगमन टोलीले पसलमा मूल्य सूची नराखिएको पाइएको जनाएको छ ।

अनुगमनका क्रममा खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने बिषादि पनि बेच्न राखिएको पाइएको विभागका प्रमुख भण्डारीले बताए । अनुगमन टोलीले मित्रपार्कमा रहेको ठूलो होलसेल जय भोले ट्रेडर्समा पनि ट्याग नभएका दाल र गेडागुडीका प्याकेज भेटाएको छ । भण्डारण समेत व्यवस्थित नभएको पाइएको जनाएको छ ।

महानगरको उपभोक्ता हित समितिले केही साता यता निरन्तर अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा अधिकांश व्यवसायीका साझा समस्या देखिएका छन् ।

समितिले चावहिलका पसलहरुलाई खरिद बिक्री बिल, दर्ता र नविकरण प्रमाण पत्र, गोदाम प्रमाणिकरणको प्रमाण पत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाण पत्र जस्ता आवश्यक कागजातसहित ३ दिनभित्र महानगरको कृषि बिभागमा सम्पर्क राख्ने गरी निर्देशन दिएर फर्किएको छ ।

तपाईको प्रतिक्रिया