अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई-भैंसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम अगाडि ल्याएको छ। कृषकलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले प्रोत्साहनस्वरूप गाई-भैंसी सुत्केरी कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ। यसबाट कोरोनाबाट बेरोजगार भएका युवालाई पशुपालनतर्फ आकर्षित गर्ने नगरपालिकाको अपेक्षा छ।

कृषकहरूलाई पशुपालनमा आकर्षित गर्नका दापथ आर्थिक बर्ष २०७७/७८ मा गाई भैसीलाई सुत्केरी भत्ताको ब्यबस्था गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले जानकारी दिए।

कोरोनाका कारण स्वदेश तथा बिदेशबाट रोजगार गुमाएर फर्किएका तथा यही बसेर पशुपालनमा गर्ने कृषकहरूलाई प्रोत्साहान गर्न सुत्केरी भत्ता प्रदान गरिने नगर प्रमुख भुसालको भनाइ छ।

 जुन कृषकको घरमा गाइ भैसी ब्याउँछ, उक्त कृषकलाई  गाई–भैसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैयाँ प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए। उनका अनुसार प्रोत्साहन रकम लिनका लागि कृषिकले गाई-भैसी सुत्केरी भएको २ महिना अवधिभित्र सम्बन्धित वडा कार्यालयको सिफारीस सहित नगरपालिकामा निवेदन दिनु पर्नेछ।

गाई-भैसी ब्याउँदा खुवाउनु पर्ने तेल, ज्वानो, जाइफल, भेली लगायतका सामाग्री खरिद गर्न कृषकलाई सजिलो होस भनेर यो कार्यक्रम सन्चालन गरीएको नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टराइले बताए।

नगरपालिकाले गाई-भैसीको पशु बिमा गर्ने किसानलाई बीमा रकमको ५० प्रतिशत अनुदान दिदै आएको छ। त्यसैगरी बाँझो जमिन सदुपयोग गर्नेलाई पहिलो चरणमा प्रोत्साहनस्वरुप १ हजार रुपैयाँसमेत नगरपालिकाले दिने नीति ल्याएको छ।

तपाईको प्रतिक्रिया