काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पुर्वराज्यमन्त्री सीता गुरुङले पार्टी नेतृत्वमा पुग्नकालागि महिलाले अझै संघर्ष गर्नुपर्ने अवस्था रहेको बताएकी छिन् ।

बिधानले केन्द्रीय समिति र विभिन्न तहमा महिला सहभागिता सुनिश्चित गरेको छ, तर महिला सक्षम भएपनि सबै तहमा महिलाले सहजै नेतृत्व लिन पाउने अवस्था छैन,’ उनले भनिन् ।

१०७ औँ वीपी जयन्तीको सन्दर्भमा शनिबार बेलुकी एनसी वुमन लिडरसीप फोरमद्धारा आयोजित ‘बीपी विचार : आजको कांग्रेस र महिला सहभागिता’ विषयक भर्चुअल संवादमा कांग्रेसको आदिवासी जनजाति विभागको प्रमुख समेत रहेकी नेतृ गुरुङले छैठौँ महाधिवेशनबाट समावेशी सिद्धान्तलाई अबलम्बन गरेको पार्टीले अहिले आएर बिधानमै ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको बताइन् ।

उनले कांग्रेसले वीपीको विचारलाई नछाडेको समेत दाबी गरिन् । नेतृ गुरुङले वीपीको विचार, सिद्धान्त र आदर्शका विषयमा लामो धारणा राखिन् ।

उनले वीपी नेतृत्वको मन्त्री मण्डलमै तीन जना आदिवासी, महिला र मधेशीको समेत प्रतिनिधित्व गराएको इतिहास रहेको भन्दै कांंग्रेसले धेरै अघि देखि समावेशी व्यवस्थालाई अंगालेको बताइन् ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा युवा नेता गुरु घिमिरेले कांग्रेसमा पार्टीभित्र महिलालाई नेतृत्व दिए पार्टीभित्रका धेरैजसो समस्या आफैं सुल्झिएर जाने बताए । ‘सार्वजनिक जिम्मेवारीमा रहँदा महिलाहरुले इमान्दारीपुर्वक भूमिका निर्वाह गर्ने गरेको देखिन्छ, यहाँ त्यस्तै भइरहेको छ, त्यसैले हाम्रो पार्टीमा पनि महिलाले नेतृत्व पाए पार्टीका धेरै समस्या आफैँ सुल्झिन्छन्,’ उनले भने ।

उनले अपवाद बाहेकका महिला नेतृत्वले भ्रष्ट आचार अवलम्बन नगर्ने भएकाले महिला नेतृत्वमाथि भरोसा गर्ने बातावरण रहेको बताए ।

उनले कांग्रेसमा सक्षम र सवल महिला नेतृहरु भएकाले उनीहरुले पनि आफ्नो सबलता र सक्षमता प्रदर्शन गरेर अगाडि आउन आग्रह गरे । नेता घिमिरेले अन्तर्राष्ट्रियस्तरमा राजनीति र राष्ट्रिय राजनीतिमा पुगेको महिला नेतृत्व र उनीहरुले खेलेको भूमिकाबारे बोलेका थिए ।

कार्यक्रममा संघ र प्रदेशका अध्य सांसदहरुले पनि धारणा राखेका थिए । संवादमा देशैभरिबाट कांग्रेसका महिला नेतृ तथा स्थानीय तहका उपप्रमुखहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया