काठमाडौँ । आन्तरिक संघर्षका कारण लामो समयदेखि बस्दै र रोकिँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सकिएको छ ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव पारित गर्दै शुक्रबारदेखि स्थायी कमिटीको बैठक सकिएको हो ।

यस बैठकसँगै नेकपाभित्र देखापरेको शक्ति संघर्ष तत्कालका लागि निरुपण भएको छ ।

स्थायी कमिटीले पार्टीलाई विधि र पद्धतिमा संस्थागत रूपमा चलाउन यसअघि भएका कमी–कमजोरीलाई सच्याएर आगामी दिनमा विधि र पद्धतिमा अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

साथै गत वर्ष भएका निर्णयहरूलाई कार्यान्वयनमा लैजाने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी पार्टीका दुई अध्यक्षबीच अधिकारका लागि भएको संघर्षको समाधान पनि यस बैठकले निकालेको प्रवक्ता श्रेष्ठले जानकारी  दिए ।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारमा केन्द्रित भएर काम गर्ने र अर्का अध्यक्ष दाहालले कार्यकारी अधिकारसहित पार्टीको कामको नेतृत्व गर्ने सहमति भएको छ ।

त्यसैगरी सरकार पार्टीको मार्ग निर्देशनमा सञ्चालन हुने निर्णय पनि स्थायी कमिटीले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले सरकारका दैनिक काममा हस्तक्षेप नगर्ने, तर राष्ट्रिय महत्वका विषयमा र अन्य महत्वका विषयमा पार्टीको निर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्ने बताए ।

शुक्रबारको बैठकमा सुरुमा सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले यस बैठकले पार्टीभित्रको अन्तरविरोधलाई समाधान दिएको बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

साथै अध्यक्ष ओलीले पार्टी फुटाउन चाहने देशी–विदेशी तत्वको खेललाई रोक्न सकेकोमा खुसी व्यक्त गरेकोे उनले बताए ।

अर्का अध्यक्ष दाहालले पार्टीलाई दुर्घटनाबाट बचाएर आगामी दिनमा पार्टीलाई रूपान्तर गर्दै लैजान यस बैठकले आधार प्रदान गरेको बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपालले कुनै असन्तुष्टि प्रकट नगरेको र अध्यक्षद्वयको निष्कर्षप्रति सकारात्मक धारणा राखेको श्रेष्ठले बताए ।

साथै नेकपाको स्थायी समिति बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपाली हक स्थापित गर्ने र भारतीय सेना फिर्ता पठाउने गरी प्रस्ताव सरकारले अघि बढाई नयाँ नक्सा पारित गरेकोमा धन्यवाद दिएको छ ।

साथै भारतसँग राजनीतिक र कूटनीतिक वार्ताबाट हल निकाल्न पार्टीले निष्कर्ष निकालेको छ ।

अमेरिकी विकास सहयोग परियोजना एमसिसीको हकमा आवश्यकताअनुसार संशोधन र परिमार्जन गरेर अघि बढ्ने निर्णय समितिले गरेको छ ।

दुईजना अध्यक्षले प्रस्ताव प्रस्तुत गरेको प्रतावका विषयमा १३ जना स्थायी समिति सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

जसमा झलनाथ खनाल, माधवकुमार नेपाल, अमृतकुमार बोहरा, रघु पन्त, लीलामणि पोखरेल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका यादव, भीम आचार्य र नारायणकाजीले धारणा राखेका थिए ।

अध्यक्षद्वयले राखेको प्रस्तावमा यसअघि स्थायी समिति सदस्यहरूले राखेको सुझाब र आज १३ जनाले राखेको सुझाबलाई समावेश गरी उक्त प्रस्तावलाई अन्तिम रूप दिने सहमति स्थायी समितिमा भएको छ ।

तपाईको प्रतिक्रिया