तेह्रथुम, १५ मंसिर । तेह्रथुममा बाम–गठबन्धन छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ । नयाँ संविधानको कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्न तथा जिल्लाको विकास र समृद्धिका लागि नेपाली कांग्रेसका उम्मेदवारहरु नै उपयुक्त भएको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गर्नेको लहर चलेको हो । पछिल्ला तीन दिनमा तीन सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
दुई दिन अगाडि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सदरमुकाम म्याङलुङमा भएको कार्यक्रममा डेढ सय बढीलाई नेपाली कांग्रेसमा प्रवेश गराउनुभएको थियो । कांग्रेस जिल्ला सचिव सन्तोष सुब्बाका अनुसार सो दिन लालीगुराँस नगरपालिकाबाट ६७ जना, म्याङलुङ्ग नगरपालिकाबाट ४३ जना, छथर गाउँपालिकाबाट ३५ जना लगायत गरी डेढ सय बढी कांग्रेस प्रवेश गरेका थिए ।

कार्यक्रममा नवप्रवेशीहरुलाई नेपाली कांग्रेसकी युवा नेतृ तथा भौतिक पुर्वाधार राज्यमन्त्री, तेह्रथुमबाट प्रतिनिधि सभाकी उम्मेदवार सीता गुरुङ र जिल्ला सभापति गोविन्द ढुंगाना केदारले कांग्रेसमा स्वागत गर्नुभएको थियो । उता आठराई गाउँपालिकाका विभिन्न वडाहरुमा पनि प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फेले पछिल्ला दुई दिनमा ५० जना बढीलाई नेपाली कांग्रेसमा स्वागत गर्नुभएको छ ।
जिल्लाबाट पछिल्लो दुई दशकको अवधिमा केन्द्रीय राजनीतिमा पहुँच राख्ने नेतृ सीता गुरुङ मात्रै भएको भन्दै युवा, महिला र लोकतन्त्र प्रेमी नेता कार्यकर्ताहरु धमाधम कांग्रेस प्रवेश गर्न थालेका कांग्रेस पुर्वजिल्ला सदस्य हेमन्त गुरुङले बताउनुभयो ।