काठमाडौं । नक्कली प्रेस कार्ड बनाएको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजारबाट ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सुस्ता बर्दघाट नगरपालिका-१३ घर भई काठमाडौं रातोपुल बस्ने ३५ वर्षीय लक्ष्मण न्यौपाने, बर्दिया राजापुर नगरपालिका-१० घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय श्रीराम खड्का, नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३१ भिमसेनगोला बस्ने २९ वर्षीय रमेश कुमार रेग्मी र स्याङ्जा जगतत्रादेबी गाउँपालिका-९ घर भई हाल काठमाडौं टोखा नगरपालिका-४ धापासी बस्ने ३९ वर्षीय राजेन्द्र राज भण्डारी रहेका छन् ।

बिश्वभर फैलिएको कोरोना भाईरसको महामारीलाई नियन्त्रण गर्न निषेधाज्ञा समेत लागू भएको अवस्थामा काठमाडौं बागबजारस्थित लक्ष्मणको कालिका प्रिन्टर्स स्पोर्टस प्रालिले विभिन्न व्यक्तिहरुको नामबाट नक्कली प्रेस कार्ड र अस्पतालको नक्कली परिचयपत्र बनाईप्रति ५ सय भन्दा बढीमा कार्ड बिक्री वितरण गर्ने गरेको र सो कार्डहरु देखाई मानिसहरु आवतजावत गरी सार्वजनिक हित तथा स्वास्थ्य सुरक्षामा समेत आँच पुर्‍याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले प्रिन्टर्सका संचालक लक्ष्मण सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त प्रिन्टर्सबाट १० थान विभिन्न मिडियाहरुको नामको प्रेस आईडि कार्ड, १५ थान विभिन्न अस्पतालको नक्कली परिचयपत्र, ३ थान विभिन्न प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र, ३ थान अन्य व्यक्तिहरु समेतको नक्कली परिचयपत्र, १ थान कटर मेसिन, १ थान स्क्यानर, १ थान कम्प्युटर, २ थान प्रिन्टर, १ थान डेबुक र २० थान एफोर साईजको प्लाष्टिक पेपर र १ थान लेमिनेशन मेसिन प्रहरीले बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया