Man being injected by doctor, during the outbreak of bubonic :  Credit: Wellcome Library, London.

 

राजेन्द्र पराजुली,

महान् लेखक अल्बेयर कामुले झण्डै साढे सात दशकअघि एउटा संक्रामक महामारीमाथि उपन्यास लेखे- ‘दि प्लेग’। सन् १९४७ मा पहिलो पटक प्रकाशित उक्त पुस्तक संसारका विभिन्न भाषामा अनुदित भइसकेका छन्।

जब चीनको वुहानबाट २०१९ को अन्त्यताका कोरोना महामारी फैलिएर विश्वलाई नै त्रसित बनायो, तब कामुको विख्यात कृति दि प्लेग पढ्नेहरू बढी डराए। तिनले दि प्लेगका घटनाहरू स्मरण गर्न थाले।

प्लेगको महामारीलाई लेखकले अल्जेरियाली शहर ओरानमा केन्द्रित गरेका छन्। ओरान सहरवासीले भोगेको हैजाको महामारीलाई उनले प्लेगमा प्रतिस्थापित गरे र उपन्यासको केन्द्र बनाए।

हैजाले १८४९ मा ओरान सहरका थुप्रै मानिसको ज्यान लिएको थियो। कामुले करिब सय वर्षअघिको महामारीलाई हृदयविदारक ढंगमा उपन्यासमा उतारे। अहिले त प्लेगको अर्थ नै एउटा सामूहिक विपद्का रूपमा बुझ्न थालिएको छ।

महामारी चाहे जुन रूपका या जुन ढंगका हुन्, त्यसबाट जोगिन मानिसहरू अनेक प्रयत्न गर्छन्। मानिस आफ्नो अस्तित्व रक्षाका खातिर के मात्र गर्न अग्रसर हुन्छ भन्ने तथ्य प्लेगले प्रस्तुत गरेको छ। त्यसकारण पनि कामुको प्लेगलाई समीक्षकहरूले एउटा अस्तित्ववादी कृति मान्छन्। मानिसको अस्तित्वको खोज त प्लेगमा छँदैछै, साथै त्यसमा एउटा विशाल दार्शनिकता पनि छ।

राजेन्द्र पराजुली

प्लेग मुसाबाट फैलने रोग हो। कोरोना भाइरसबाट। प्लेग सामूहिक आपद् थियो, कोरोना वैश्विक विपद्। दुवै रोग आखिर मानव समुदायमाथिको चुनौतीका रूपमा इतिहासमा दर्ता हुने छन्।

यो आलेखको उद्देश्य कामुको दि प्लेग उपन्यासको साहित्यक चर्चा गर्नु होइन, एकजना प्रतिभाशाली लेखकले कसरी धेरै वर्षअघि मानिसले भोगेको महामारीलाई उपन्यासमा वर्णन गर्न सक्छ र त्यो कृति विश्वप्रिय बन्न जान्छ भन्ने स्मरणमात्र गर्न खोजिएको हो। र, त्यो महामारी र अहिले हाम्रो पुस्ताले भोगिरहेको कोरोना सन्त्रासमा केकस्ता समानता छन् भनी सर्सर्ती हेर्नु पनि हो।

हामीले खोजिरहेको आफ्नो अस्तित्व स्मरण गर्नु हो। कोरोनाभित्रको दार्शनिक पक्ष के हुन सक्ला ? के यो महामारीमाथि पनि कुनै उपन्यास लेखिएला या साहित्यका अन्य कुनै विधा ? कोरोनापछिको संसार कस्तो होला ? मानिसका जीवनशैलीमा केकस्ता परिवर्तन आउलान् ? यी सवालमा कुनै कृति नै नआए पनि प्रसिद्ध इजरायली युवा चिन्तक युवल नोआ हरारीले फुटकर आलेख लेखिरहेका छन्, थुप्रै डिस्कोर्समा भाग लिइरहेका छन्।

ओरान शहरलाई हैजाले दिएको पीडा सय वर्षपछि कामुले कल्पना गरे र दि प्लेगमा उतारे। कोरोनाले दिएको त्रासबारे अहिले नै पनि थुप्रै लेख, कथा र अन्य फुटकर साहित्य रचना हुन थालिसकेका छन्। तर, एउटा अमर कृति कुन रूपमा, कसले र कहिले लेख्ला भन्ने जान्ने हुटहुटी कुनचाहिँ पाठकलाई नहोला !

अर्का विश्वप्रसिद्ध तथा नोबेल पुरस्कार विजेता लेखक गाब्रियल गार्सिया मार्खेजले हैजा महामारीका समयमा उम्रिएको प्रेमबारे १९८५ मा ‘लभ इन दि टाइम अफ कलेरा’ जस्तो उत्कृष्ट कृति लेखे।

कामुले उपन्यासमा एउटा ठूलो दर्शन प्रस्तुत गरेका छन्- जब कुनै विपद् आइलाग्छ तब मानिसहरू आफ्नो असली रंग देखाउन थाल्छन्। अहिले कोरोना संक्रमणले विश्व थिलथिलो भइरहँदा धनीहरू ‘भ्याक्सिन राष्ट्रवाद’ प्रदर्शन गरिरहेका छन्। यो नै तिनको असली रंग हो।

कोरोना भाइरस नियन्त्रणमा संसारका अधिकांश सरकार र प्रशासन असफल छन्। मानिसहरू सरकारलाई मुख्य दोषी ठह¥याइरहेका छन्। हैजा फैलँदा पनि ओरान सहरको प्रशासन निकम्मा साबित भएको थियो। अहिले अल्जेरिया पनि कोरोनाबाट प्रताडित छ। त्यहाँ झण्डै ४५ हजार मानिस संक्रमित छन्, डेढ हजारजतिको जीवन गइसकेको छ। अल्जेरियावासीहरू अहिले दि प्लेग खुबै सम्झिरहेका छन् र निकै डराइरहेका पनि छन्।

नेपाल यस्तो मुलुक हो, जहाँ विभिन्नखाले प्रकोपहरू आइरहन्छन्। बाढीपहिरो, भूकम्प, शीतलहर, हैजा, डेंगु आदि। तर यी प्रकोपमाथि प्रभावशाली साहित्य आउन सकेको देखिँदैन। ती प्रकोपहरू प्रायः समुदायस्तरमा परेर उतिविधि प्रभाव नपरेको पनि हुन सक्छ। तथापि बाढी, भूकम्पका विषयमा तत्तत् समयमा कथा, कविता भने खुबै लेखिए। ती रचनाको प्रभाव मूल्यांकन हुन सकिरहेको छैन।

यतिखेर अल्जेरियावासीलाई कोरोनासँग डर त छ, तर त्योभन्दा ठूलो डर अर्कै छ। तिनलाई कोरोना संक्रमणको बहानामा राजनीतिक अधिकारीहरूले आफ्ना अरु नै उद्देश्य पूरा गर्ने हुन् कि भन्ने चिन्ता छ। अल्जेरिया १९९०को दशकमा भएको रक्तपातपूर्ण हिंसा जसलाई ‘ब्ल्याक डिकेड’ भनिन्छ, त्यसबाट प्रताडित छ।

विस्तारै त्यो हिंसाको क्रम रोकिँदै थियो, अचानक कोरोना भाइरसको महामारी आइदियो। देशमा लकडाउन भयो, तर पनि शान्तिपूर्ण आन्दोलन भने चलिरह्यो, कोरोनाका बहानामा अर्थोक हुन नपाओस् भन्ने उद्देश्यले।

कामुले प्लेग लेख्दाको विश्व र आजको समयमा विशाल अन्तर छ। सूचना, सामाजिक सञ्जाल र विज्ञानले मानिसले गरिरहेका कामहरू गोप्य राख्न कठिन बनाइदिएको छ।

अल्जेरियाका वासिन्दाहरू सेल्फ क्वारेन्टिनमा बस्न थाले, त्यसले पनि एकजुटतामा मद्दत गर्‍यो। दि प्लेगमा पनि संकटका बीच मानिसहरूमा बढेको एकजुटता देखाइएको छ। अल्जेरियामा हैजा महामारी चल्दा मानिसहरूबीच एकअर्कालाई सहयोग गर्ने चलन थियो, अहिले कोरोनामा पनि सोही क्रम चलेको छ। मानिसलाई सचेत गराउन अल्जेरियामा एकजना पत्रकारले रेडियो कोरोना इन्टरनेसनल सञ्चालनमा ल्याएका छन्।

दि प्लेगमा पनि कामुले एकजना पत्रकार पात्र उभ्याएका छन्। ऊ ओरान शहरको खराब अवस्थाबारे खबर दिन्थ्यो। शहरमा लकडाउनका कारण पत्रकार घर जान सकिरहेको थिएन। कोरोनामा पनि पत्रकारले कोरोनाबारे चेतना जगाउन रेडियो सञ्चालन गरेका छन्।

यस्ता कतिपय घटना कामुको दि प्लेगसँग मिल्दाजुल्दा देखिन पुगेका छन्। एउटा लेखकको काल्पनिकीले सत्यसँग कसरी समीप पुग्न सक्छ भन्ने उदाहरण दि प्लेगलाई मान्न सकिन्छ।

कामुले उपन्यासमा एउटा ठूलो दर्शन प्रस्तुत गरेका छन्- जब कुनै विपद् आइलाग्छ तब मानिसहरू आफ्नो असली रंग देखाउन थाल्छन्। अहिले कोरोना संक्रमणले विश्व थिलथिलो भइरहँदा धनीहरू ‘भ्याक्सिन राष्ट्रवाद’ प्रदर्शन गरिरहेका छन्। यो नै तिनको असली रंग हो।

कतिपय मुलुकका शासकहरू यही महामारीमा निर्वाचन गराएर आफ्नो सत्तालाई अकण्टक बनाइरहेका छन् त कोही यो विषम परिस्थितिमा धन थुपार्ने दाउमा लागिरहेका छन्। कसैलाई निर्वाचन जित्न कोरोनाविरुद्धको भ्याक्सिन निर्माण गरेर जनतालाई उपलब्ध गराउनु छ भने कसैलाई भ्याक्सिन बनाएर चरम नाफा कमाउनु छ। यही त हो विपद्मा मानिसले देखाउने आफ्नो रंग !

कामुले प्लेग लेख्दाको विश्व र आजको समयमा विशाल अन्तर छ। सूचना, सामाजिक सञ्जाल र विज्ञानले मानिसले गरिरहेका कामहरू गोप्य राख्न कठिन बनाइदिएको छ। यो प्राप्ति एउटा लेखकका निम्ति ठूलो मसला हुन सक्छ। कोरोना महामारीमाथिको सम्भावित कृति यिनै मानिसको फेरिइरहने रंगहरूमा केन्द्रित पो होला कि !

तपाईको प्रतिक्रिया