इन्दिरा भट्टराई,

तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुममा एक गर्भवती महिलाको जटिल शल्यक्रिया गरिएको छ । पाठेघर भित्र बस्नुपर्ने गर्भ पाठेघरसँग जोडिएको देब्रे नली फलोपियन ट्युबमा बसेर गर्भ फुटेपछि पेट भित्रै अत्यधिक रक्तश्राव भएको थियो ।

बिरामीको जटिल अवस्था भएपनि चिकित्सकले महिलाको सफल शल्यक्रिया गरेका छन् । अस्पताल आइपुग्दा बिरामीको अबस्था एकदमै जटिल थियोे ।

श्रोत साधनको अभाव भएकाले चिकित्सकले सुविधायुक्त अस्पताल लैजान सुझाएका थिए । तर, रेफर गर्दा स्थलमार्ग वा हेलिकप्टरबाट उद्धार गर्दा पनि बिरामीको बाटैमा मृत्यु हुनसक्ने अवस्था भएका कारण परिवारले जिल्लामै उपचार गरिदिन आग्रह गरेका थिए ।

११ भदौको विहान ९ः३० बजे पेट दुखेर आकस्मिक कक्षमा भर्ना भएकी महिलाको विहान ११ बजेनै शल्यक्रिया सुरु गरिएको थियो । देब्रे फलोपियन ट्युबमा बच्चा बसी उक्त ट्युबबाट बच्चा बाहिरिने क्रममा प्वालपरि सो स्थानबाट रगत बगेर अन्दाजी ११ हप्ताको भ्रुण पेटमा पाइएको थियो । अन्दाजी २.५ देखि ३ लि. रगत पेटमा जम्मा भएको थियो । अभावका बीच जोखिम मोलेर गरिएको शल्यक्रिया सफल भएको उपचारमा संलग्न प्रमुख डा. राजन घिमिरेले बताए ।

‘शल्यक्रिया भइरहँदा सफल होला न होला ? मनमा डर थियो, अत्यधिक रक्तश्राव भएकाले तुरुन्त रगत चढाउनु पर्ने थियो, तर हामी कहाँ त ब्लड बैंक सम्म पनि छैन, तुरुन्तै चाहिएको ब्लड व्यवस्थापन गर्नु अर्को चुनौती थियो,’ डा.घिमिरे भन्छन्, ‘शल्यक्रिया गर्दा गर्दै अस्पतालका कर्मचारीहरुले नै रक्तदान गरी एक पोका (३५० मि.लि) रगत चढाइयो । वार्डमा सारेपछि थप दुई पोका रगत चढाइयो, अन्ततः हाम्रो टिम सफल भयो ।’

शल्यक्रियाको चौंथो दिन बिरामीको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको डा.तुपेश थुलुङ राईले जानकारी दिए । शल्यक्रियामा डा. घिमिरे, डा. थुलुङ राई, एनेस्थेसिया सहायक आजाद कृष्ण यादव र लालबाबु यादव, स्क्रब नर्स सुष्मा गिरी लगायतको टिम संलग्न थियो ।

जिल्ला अस्पतालमै भएको यो जटिल शल्यक्रियाको सफलताले स्वास्थ्यकर्मीहरु र जिल्लाबासी पनि उत्साहित छन् । आवश्यक श्रोत साधनको पर्याप्त उपलब्धता भए प्रसुति सम्बन्धी रोगकालागि जिल्लाबाहिर लैजानुपर्ने अवस्था कमैमात्र रहने अस्पतालका डाक्टरहरु बताउँछन् ।

एक अध्ययनका अनुसार नेपालमा जन्मिएका बच्चामध्ये ०.९३ मा एक्टोपिक देखिने गरेको छ । अमेरिकाको सीडीसीको रिपोर्ट अनुसार कुल गर्भ मध्ये ३.४ प्रतिशतको मृत्यु एक्टोपिकका कारणले हुने गरेको छ ।

त्यस्तै, सन् २००६ को नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्ययनले पनि प्रति हजार प्रसुति मध्ये १०.२ मा एक्टोपिक रहेको देखाएको छ । यी अध्ययनमा एक्टोपिक गर्भावस्थाको मुख्य कारणमा पाठेघरको जटिल सङक्रमण तथा गर्भपतन रहेको अध्ययनको निष्कर्ष छ ।

एक्टोपिक गर्भावस्थाका मुख्य कारणहरुमा फलोपियन ट्युवको समस्या (सङ्क्रमण, शल्यक्रियाका कारण या जन्मजात समस्या) अघिल्लो एक्टोपिक गर्भावस्था, जनेिन्द्रय/पाठेघरको सङक्रमण, बाँझोपन, एक भन्दा बढि ब्यक्तिसँगको यौन सम्पर्क, पटक-पटकको गर्भपतन, कृतिम गर्भाधारण आदि रहेका छन् ।

मुख्य लक्षणहरुमा महिनावारी रोकिनु, अचानक पेट दुख्नु र कहिले काहिँ योनीबाट रगत बग्नु रहेका छन् ।

तपाईको प्रतिक्रिया