ताप्लेजुङ, मंसिर १३ – ताप्लेजुङमा मतपेटीका सुरक्षित गर्न सिसी क्यामरा जोड्ने सहमति भएको छ । मंसिर १० गते पहिलो चरणको मतदान सम्पन्न भई सम्पूर्ण मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत कर्यालयमा भण्डारण गरी सकिएपछि मंगलबार बसेको सर्वदलीय भेलाले सिसी क्यामरा जोड्ने निर्णय गरेको हो । मतपेटीका चारवटा कोठामा सिलबन्दी गरी राखिएको छ ।
दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्रै मतगणना सुरु गरिने भएकाले ती मतपेटिका दलका कार्यकर्ताबाट मात्रै होइन, मुसाबाट समेत जोगाउनुपर्ने छ ।
कोठामा भण्डारण गरेको मतपेटिकाभित्र मुसाले मतपत्र काट्न सक्ने भन्दै नेकपा एमाले ताप्लेजुङका उपाध्यक्ष मात्रिका भट्टराईले मतपेटिका राखिएको कोठामा ढाडे बिरालो तैनाथ गर्नुपर्ने समेत प्रस्ताव राख्नुभएको छ । मतपेटिका राखिएको स्थानमा सिसी क्यामेरा जडान गरिने र सुरक्षाकर्मी तैनाथ गरिनेछ । सहमति अनुसार तत्कालका लागि भने सिलबन्दी मात्रै गरिएको छ ।
अहिले सिलबन्दी मात्र गरिएको र सिसी क्यामराका लागि निर्वाचन आयोगमा माग गरिएको प्रमुख निर्वाचन अधिकृत कृपासुर कार्कीले बताउनुभयो । उहाँले माग अनुसार रकम आएमा मात्र सिसी क्यामरा जोडिने बताउनुभयो ।
सर्वपक्षीय भेला तथा अनुमानित २ लाख २० हजारसम्म बजेट लाग्ने अनुमानसहित प्रस्ताव पठाएको अधिकृत कार्कीले बताउनुभयो । मतपेटिका राखिएका कोठाहरुको रेखदेख गर्नका लागि १० वटा सिसी क्यामराका आवश्यक रहने कार्कीले बताउनुभयो ।
आयोगबाट खरिदको प्रकृया ढिला भए क्यामेरा खरिदका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चुनावका लागि आएको रकमबाट नै खरिद गर्ने सहमति दलहरुबिच भएको अधिकृत कार्कीले बताउनुभयो । सिसी क्यामराबाट निगरानी भएमा मत गणनामा पनि सहज हुने अधिकृत कार्कीले बताउनुभयो ।