काठमाडौं, मंसिर १३ – प्रदुषणका कारण यो वर्ष छिट्टै चिसो बढेको मौसमविदले बताएका छन् । प्रदुषणका कणहरु वायुमण्डलमा पुग्दा चिसो बेलामा थप चिसो हुने र तातो बेलामा थप तातो हुने मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।
उहाँका अनुसार केही समय यता सडक बिस्तारको क्रममा निस्किएको धुँवाधुलो तथा कलकारखानाबाट निस्किएको प्रदुषण वायुमण्डलमा मिसिने गरेको छ । विश्वव्यापी रुपमा भएको ताक्रम बृद्धिका कारण पनि चिसो बढेको उहाँले जानकारी दिनुभयो ।
गएको वर्ष मंसिर १२ गते जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियस मापन गरिएकोमा मंगलबार त्यहाँको न्यूनतम तापक्रम माइनस ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै गएको वर्ष न्यूनतम तापक्रम ३ डिग्री रहेको जोमसोमको मंगलबारको न्यूनतम तापक्रम माइनस शून्य दशमलव २ डिग्री तथा पोहोर मंसिर १२ गते सबैभन्दा धेरै १८ डिग्री सेल्सियस रहेको धरानको न्यूनतम तापक्रम मंगलबार १५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
यस्तै गएको वर्ष ९ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम मंगलबार ६ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसरी न्यूनतम तापक्रम घट्नुको मुख्य कारण प्रदुषण नै भएको मौसमविद्ले बताएका छन् ।
यसैबिच बुधबार पूर्व र मध्य पहाडी क्षेत्रको मौसम बदली भइ केही ठाउँमा हल्का हिमपातको संभावना रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो । मंगलबार ताप्लेजुङ र जिरीमा हल्का पानी परेको थियो ।