तेह्रथुम, १३ मंसिर । चुनावको मिति नजिक आउँदै गर्दा तेह्रथुममा चुनावी रौनक उत्कर्षमा पुगेको छ । चुनाव नजिकिँदै जाँदा दलहरुले चुनावी गतिविधि बढाएका हुन् ।
उम्मेदवारले दैनिक ४–५ वटासम्म टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरिरहेका छन् भने चुनावी सभामा शीर्ष नेताको टोली पनि आइपुग्न थालेको छ ।
उम्मेदवार र नेताको घरदैलो पनि सुरु भएको छ । गाउँ–गाउँमा दलका कार्यकर्ता, मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो गरिरहेका छन् ।
६ वटा स्थानीय तह रहेको तेह्रथुममा ४३ वटा वडा छन् । मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारलाई सबै वडामा एक पटक पुग्न समेत भ्याईनभ्याई भएको छ ।
प्रदेशसभाका उम्मेदवारले भने घरदैलो गर्न समेत समय पु¥याएका छन् । पहिलो चरणमा चुनाव सम्पन्न भएका जिल्लाका नेता कार्यकर्ता समेत दोश्रो चरणमा हुने चुनावमा खटिन थालेपछि चुनावी माहोल अझै बढेको हो ।
एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा ११ दलको उम्मेदवारी छ भने प्रदेशसभा क मा ९ तथा प्रदेशसभा ख मा ८ जनाको उम्मेदवारी छ ।
ठुला दलले ठुलै तामझामले प्रचार प्रसार गरिरहेका छन् भने साना दलको आफ्नै किसिमको प्रचार प्रसार चलिरहेको छ । मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारको दैनिक छुट्टा–छुट्टै चुनावी सभा भइरहेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरमलगायत दलहरुले पनि चुनावी सभा गरिरहेका छन् ।
लोकतान्त्रिक गठबन्धनका लागि नेपाली कांग्रेसकी प्रतिनिधिसभा उम्मेदवार भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङले २५ भन्दा बढी वडामा चुनाव प्रचार प्रसार कार्यक्रम सकेको बताउनुभयो ।
वाम गठबन्धनका लागि एमाले नेता भवानीप्रसाद खापुङले पनि २५ बढी वडामा पुगेर चुनाव प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । प्रतिनिधिसभामा बाम गठबन्धनका खापुङ र लोकतान्त्रिक गठबन्धनकी गुरुङबिच बलियो प्रतिस्पर्धा देखिन्छ ।
प्रदेशसभामा (क) निर्वाचन क्षेत्रमा लोकतान्त्रिकका कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगाना र वाठ गठबन्धनका एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी तथा (ख) क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका विजय सम्बाहाम्फे र वाम गठबन्धनका एमाले पूर्व जिल्ला अध्यक्ष तेजमान कन्दङवाबिचमा चुनावी प्रतिस्पर्धा छ ।
यी दुई गठबन्धनको क्षेत्रीय आमसभासमेत हुन थालेका छन् । सोमबार सदरमुकाम म्याङलुङ्गमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको उपस्थितिमा लोकतान्त्रिक गठबन्धनले चुनावी सभा ग¥यो ।
मंगलबार वाम गठबन्धनले एमाले सचिव योगेश भट्टराई र माओवादी केन्द्रका नेता टंक आङबुहाङको उपस्थितिमा आठराईको सक्रान्तिबजारमा चुनावी सभा गरेको छ । यता लोकतान्त्रिक गठबन्धनले लालीगुराँस नगरपालिकाको दाँगपामा चुनावी सभा गरेको छ ।
बुधबार सदरमुकाम म्याङलुङ्गमा एमाले नेता योगेश भट्टराईसहितका नेताले सम्बोधन गर्ने वाम गठबन्धनको सभा छ भने लोकतान्त्रिक गठबन्धनले छथरको शुक्रबारे बजारमा वाणिज्यमन्त्री मीन विश्वकर्मासहितका नेता सहभागी हुने चुनावी सभा गर्ने जनाएको छ ।
अबका बाँकी केहीदिनसम्म लोकतान्त्रिक र बाम दुवै गठबन्धनका छुट्टा–छुट्टै नगर तथा गाउँपालिकास्तरीय चुनावी आम सभाहरु आयोजना गरिएका छन् । एमाले सचिव भट्टराईले जिल्लाको म्याङलुङ्ग, मेन्छ्यायेम र बसन्तपुरमा हुने सभालाई सम्बोधन गर्ने एमाले जिल्ला उपसचिव भुपतिलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मेन्छ्यायेम गाउँपालिकामा एमाले नेता पृथ्वी सुब्बा गुरुङले सम्बोधन गर्नुहुनेछ ।
त्यस्तै लोकतान्त्रीक सभामा कांग्रेस नेता भिष्मराज आङ्देम्बे, दीपक खड्कालगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव सन्तोष सुब्बाले बताउनुभयो ।
मतदातामा छैन उत्साह
दलका नेता कार्यकर्ता चुनाव प्रचार प्रसारमा व्यस्त भए पनि आम मतदातामा भने चुनावी उत्साह खासै देखिँदैन । दलका नेताहरु घरदैलोमा पुग्न थालिसक्दा पनि मतदाताले भने चुनावको रौनक नभएको बताएका छन् । गाउँका किसानहरु अहिले अन्नबाली थन्काउन, नयाँ खेती लगाउन व्यस्त छन् । स्थानीय चुनावमा जस्तो मतदातामा उत्साह देखिएको छैन ।
बजार क्षेत्रमै पनि मतदातालाई चुनावले खासै उत्साह थपेको छैन । राजनीतिक दलहरुले हरेक पटकका चुनावमा उस्तै उस्तै एजेण्डा लिएर आउने तर चुनावका बेलाबाहेक त्यस्ता विषयमा नसोच्ने गरेकाले मतदातामा चुनावी उत्साह नदेखिएको सरोकारवालाहरु बताउँछन् ।
जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरु यस अगाडि पनि सांसद थिए । ‘दुवै उम्मेदवारले पहिले पनि जनतामाझ विभिन्न आश्वासन बाँडेकै थिए । फेरि पनि तिनै आश्वासन बाँड्दै भोट मागिरहेका छन्’, आम्बुङकी इन्दु लिम्बुले भन्नुभयो ।
नेताहरुले मतदाताको भावनाबमोजिम काम गर्न नसकेको लिम्बुको बुझाई छ । नेताप्रति खासै आशा नभएकाले चुनावी गतिविधिमा खासै चासो नदेखाएको उहाँले बताउनुभयो । ‘चुनाव मताधिकार प्रयोग गर्ने अवसर हो, तर यहाँ त सक्षम उम्मेदवार पाउनै मुस्किल छ,’ आठराई गाउँपालिका–४, इवाका टिकाराम गुरुङले भन्नुहुन्छ ।
गाउँका धेरै सर्वसाधारणलाई चुनावी माहोलले छोएको छैन । उनीहरु दलका झुटा आश्वासन सुन्नु भन्दा आफुलाई मनपर्ने मान्छे रोजेर भोट खसाल्ने योजनामा रहेको बताउँछन् ।
‘दलका घोषणापत्र, चुनावी एजेण्डा सुनिसाध्य छैन’ म्याङलुङ्ग नगरपालिका–८ का प्रेमप्रसाद सम्बाहाम्फेले भन्नुहुन्छ, ‘एजेण्डा हैन, अब मान्छे हेरेर भोट हालिन्छ ।’ २०१५ सालपछि आफूले सबै चुनावमा मत हालेको बताउने ८४ वर्षे सम्बाहाम्फेले पूरा नहुने आश्वासन सुनेर कुनै फाइदा नरहेको बताउनुभयो ।