तस्विर – एमाले प्रदेश सभा समानुपातिक उम्मेदवार अनुभूति बम नेपालीको फेसबुकबाट ।

तुलसीराम धमला । गुराँस न्युज ।

तेह्रथुम, १२ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावपछि बामपन्थीहरुको बहुमतको सरकार बन्ने बताउनुभएको छ । उहाँले आसन्न निर्वाचनमा बाम–गठबन्धनले बहुमत प्राप्त गर्ने र वामपन्थीहरुकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो ।

तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारमा संयुक्त बाम–गठबन्धनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै एमाले प्रचार विभाग प्रमुख समेत रहनुभएका नेता भट्टराईले बामपन्थीले जितेमात्र नेपालमा विकास र समृद्धि सम्भव भएको भन्दै वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

उहाँले बाम एकताले कांग्रेस आत्तिएको समेत आरोप लगाउनुभयो । नेता भट्टराईले बाम गठबन्धनलाई टुटाउन अनेक प्रयत्न भइरहेको भन्दै चुनावी तालमेलसँगैै पार्टी एकिकरणको सुरुवात भएको दाबी गर्नुभयो । ताप्लेजुङबाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार रहेका भट्टराई १० मंसिरमा चुनाव सकेर छिमेकी जिल्लाको चुनावी सभामा सहभागी बन्नुभएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य टंक आङबुहाङ, एमाले नेता विजय सुब्बा, तेह्रथुमबाट प्रतिनिधि सभाका उम्मेदवार भवानीप्रसाद खापुङ, प्रदेश सभा (ख) का उम्मेदवार तेजमान कन्दङ्वा लगायत नेताहरुले आ–आफ्नो धारणा राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया