भोजपुर, मंसिर १२ –जिल्लाको उत्तरी साल्पा सिलिछो गाउँपालिका र षडानन्द नगरपालिको केही वडाको मतपेटिका चुनाव भएको ३ दिन बितिसक्दा समेत मतपेटिका सदरमुकाम ल्याउन नसकिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले बताउनुभयो ।
सोमबार षडानन्द नगरपालिकाको नेपालेडाँडाको न्याउले जंगलमा मतपेटिकालाई लक्षित गरेर बम पड्किएपछि कडा सुरक्षाका साथ साँझ मतपेटिका दिङला ल्याइएको थियो । ‘सुरक्षासँंगै पानी परेको कारण राति ल्याउन सकिएन, सुरक्षाका साथ दिङ्ला मतपेटिका राखेका छाैँ, अहिले बाटोमा ल्याउने काम भइरहेको छ’ मुख्य निर्वाचन अधिकृत इङनामले बताउनुभयो ।
जिल्लाको १ सय ४८ केन्द्रमध्ये १ सय ३६ केन्द्रको मतपेटिका सदरमुकाम आइसकेको छ भने र उत्तरी क्षेत्रको १२ ओटा केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहेका छ ।
आइतबार सम्पन्न भएको पहिलो चरण अन्र्तगत भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ५८ दशमलव १३ प्रतिशत मात्र मत खसेको जिल्ला निर्वाचनका कार्यालयले जनाएको छ ।
यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा संकलन गरिएका मतपेटिकाको सुरक्षाको विषयमा राजनैतिक दलहरुसँग छलफल गरिरहेको जनाएको छ ।