इन्द्र नेपाली,

तेह्रथुम । सरकारले फुसको छानो हटाउने अभियान थालेपछि तीनै तहका सरकारले फुसको छानो हटाउने अभियान चलाएका छन् ।

यहाँको फेदाप गाउँपालिकाले भने संघीय सरकारले अभियान थाल्नु अगावै नीतिगत निणर्य गरेर फुसको छानोमुक्त गर्ने अभियान चलाएको छ । गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङ गाउँपालिका क्षेत्रमा फुसको छानो विस्थापित गर्ने नीति लिएको बताउँछन् ।

‘स्थानीय चुनाव हुँदा घोषणा पत्रमै वाचा गरेको थिएँ, अब ती नै बाचाहरु पूरा गर्दैछु, त्यहीअनुसार फुसको छानो हटाउने अभियान चलाएका छौँ,’ तत्कालिन नेकपा एमालेबाट निर्वाचित अध्यक्ष चोङवाङले भने ।

गाउँपालिकाले गौरवको योजनाका रुपमा ‘खरको छानोमुक्त कार्यक्रम’ अघि सारेको बताए । ‘गाउँपालिकाभित्र तीन हजार आठ सय चार घरधुरी छन् ।

तीमध्ये फुसको छानो भएका घरधनीलाई जस्तापाता अनुदान दिने कार्यक्रम छ,’ उनले भने । गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मै गाउँपालिकालाई फुसको छानोमुक्त बनाउने नीति तयार गरेको थियो । गाउँपालिकाले त्यसयता निरन्तर सो कार्यक्रमलाई अघि बढाएको छ ।

अध्यक्ष चोङवाङका अनुसार गाउँपालिकाले अहिलेसम्म दुई सय ४२ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा सिम्लेका २५, जलजलेका १६ र इसिवुका एक सय गरी एक सय ४२ र आर्थिक वर्ष ०७६/७७ मा पाँच वटै वडामा २०-२० घरधुरी गरी एक सय घरधुरीलाई अनुदानमा जस्तापाता वितरण गरेको छ । पहिलो वर्ष ३० लाख र दोश्रो वर्ष ८० लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

‘चाहेर पनि घरको छानो फेर्न सकेको थिइनँ,’ सिम्लेका गौरीमान लिम्बु भन्छन्, ‘खरको अभावले चुहिने छानोमुनि बसेका थियौँ, गाउँपलिकाले जस्तापाता दिएपछि ओत लाग्ने ठाउँ व्यवस्थित भएको छ ।’

गाउँपालिकाले अनुदानमा जस्तापाता वितरण गरेपछि आदिवासी जनजाति, एकल महिला, दलित र विपन्नहरुलाई लाभ पुगेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षकालागि पनि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिका अध्यक्ष चोङवाङ भन्छन्, ‘मेरो कार्यकालभित्र गाउँपालिकालाई फुसको छानोमुक्त बनाउछु ।’ यो वर्ष गाउँपालिकामा फुसको छानोमुक्त बनाउने अभियानकालागि संघ र प्रदेश सरकारले एक हजार परिवारकालागि जस्तापाता खरिदको बजेट पठाएका छन् ।

यस्ता छन् फेदापका योजना : हेलिप्याड निर्माणदेखि प्रशासनिक भवन निर्माणसम्म

गाउँपालिकाले संघीय सरकारबाट प्राप्त समानीकरणतर्फ प्राप्त बजेटमध्ये ७ करोड ८२ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले प्रशासनिक भवन निर्माणकालागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष ०७७/७८ मा गाउँपालिकाले भवन निर्माणकालागि एक करोड रुपैयाँ विनियोजन गरेको हो ।

गाउँपालिकाले पोक्लाबाङ बजारको सडक सोलिङ सहित ढलानकालागि ४० लाख, फेदाप थुमको ऐतिहासिक शालिक निर्माणकालागि २० लाख, भ्यागुत्ते ढुंगा सिक्री पाथीभरा हुदै देउराली पदमार्ग निर्माणकालागि दश लाख, ह्यात्रुङ झरना प्रवद्र्धनकालागि १८ लाख, चिचिलिङ पोखरी छेऊमा हेलिप्याड निर्माणकालागि १५ लाख, चिचिलिङ पोखरी संरक्षण तथा व्यवस्थापनकालागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, गाउँपालिकाभित्रका गरिब, दलित र सीमान्तकृत समुदायकालागि खाद्यान्न पहुँच कार्यक्रमकालागि २० लाख र गूल्डुङ डाँडा भ्यु टवारकालागि १५ लाख, जेसीबी खरिदकालागि ४५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

तपाईको प्रतिक्रिया