झापा, मंसिर १२ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाको झापा सदरमुकाम चन्द्रगढीमा रहेको घरमा बम विस्फोट भएको छ ।
नचिनेका मानिसको समूहले सोमबार राति पौने १ बजे सिटौलाको घर पछाडिको पर्खालमा विस्फोट गराएको प्रहरीले जनाएको छ । मध्य रातमा भएको विस्फोटको आवाज तीन किलोमिटर टाढासम्म सुनिएको थियो । विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । यसैबिच झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
केहीदिन अघि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको दमक–५ मा रहेको निवास र अर्जुनधारा नगरपालिकामा रहेका कांग्रेस झापाका अध्यक्ष उद्धव थापाको निवासमा पनि विस्फोट भएको थियो ।