फूलको थुँगा बगेर गयो गंगाको पानीमा

कहिले भेट होला नि बरै यो जिन्दगानीमा…

राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो गीत उनकी धर्मपत्नी महाकाली घिमिरेको जीवनमा मेल खान गएको छ । घिमिरेले कुन परिवेशमा, कुन अवस्थामा र कुन मनस्थितिमा लेखेका थिए, अब कसैले भन्न सक्दैन । तर, यही गीतले महाकाली घिमिरेको जिन्दगीमा अँध्यारो दिनलाई सम्झाइरहनेछ ।

राष्ट्रकवि पत्नी मौन छिन् । सायद बोल्नका लागि शब्दहरू उनको घाँटीमा अड्किएका छन् । सात दशकभन्दा लामो समय सँगै रहेकी उनले अब जिन्दगीका बाँकी यात्रा एक्लै गर्नुपर्नेछ । काठमाडौंको कपुरधारास्थित उनको घरबाट अब सदाका लागि राष्ट्रकविको आवाज अस्ताएको छ ।

विगत केही दिनदेखि राष्ट्रकविको स्वास्थ्यमा अलि समस्या आएको थियो । उनलाई ग्रान्डी हस्पिटल पनि लगिएको थियो । साइला ज्वाइँ करूणाकर अधिकारीका अनुसार गत आइतबार चिकित्सकले घरमै राख्दा हुन्छ भनेर सल्लाह दिए । उनलाई छटपटाइरहने समस्या थियो । त्यही भएर शान्त रहने औषधि खुवाइएको थियो । तर, मंगलबार अपराह्न ५ः५५ बजे राष्ट्रकविले संसारबाट बिदा भए । उनको बुधबार विहान १० बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ दाह संस्कार हुदैछ ।

एकपटक कुराकानीका क्रममा महाकाली घिमिरेले भनेकी थिइन्, ‘करिब दुई वर्षदेखि बिरामी हुनुहुन्छ । त्यहीकारण लेखन अलि सुस्त छ । उहाँलाई घरायसी बन्धनमा पारेकी छैन, लेखनमा छाडिदिएकी छु । अहिलेसम्मकै उत्तम महाकाव्य ‘ऋतम्भरा’ लेख्दै हुनुहुन्छ । त्यसलाई चाँडै सक्नुभए हुन्थ्यो भन्ने लागिरहन्छ ।

तर, राष्ट्रकविले महाकाव्य पूरा गर्न पाएनन् । यही भदौमा महाकाव्य सकाउने योजनामा घिमिरे थिए । तर, अन्तिम चरणको काम बाँकी हुँदै अस्ताए ।

आफूले ‘ऋतम्भरा’ महाकाव्य सकाएपछि भने आए लेख्ने, नआए नलेख्ने बताउँथे । तर, ऋतम्भरा अधुरै रह्यो । नेपाली साहित्यकाशमा एउटा कृति अधुरो रह्यो । नेपाली साहित्यको आकाशबाट एउटा तारा अस्तायो । र, पनि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीको काव्य सिर्जना बोकेर हरेक नेपालीको दिलमा बसिरहनेछन् ।

एकपटक कुराकानीको क्रममा राष्ट्रकविलाई जीवन र मृत्यु के हो भनेर सोधिएको थियो । उनको जवाफ थियो, ‘जीवनचाहिँ भगवान्को वरदान हो । मृत्युचाहिँ कति बेला आउँछ थाहै नहुने ।’ मृत्यु कति बेला अर्थपूर्ण हुन्छ ? उनले कान यसो घुमाएर फेरि भन्ने इसारा गरेका थिए । र, प्रश्नमा स्पष्ट भएपछि भनेका थिए, ‘केही दिएर मरेको छ भने उसको मृत्यु सार्थक हुन्छ ।’

कतिपयले राष्ट्रकविको आलोचना पनि गर्छन् । कतिले उनलाई महान् पनि भनिरहेका छन् । तर, राष्ट्रकवि आफैँले आफैँलाई महान् भन्न नमिल्ने बताउँथे । ‘म आफैँले भन्ने कुरा होइन, त्यो । सबैले मन पराइराखेका छन् । कसैले नराम्रो भनेका छैनन्,’ उनले भनेका थिए, ‘कसैले अलि प्रगतिशील भएन भन्लान्, कसैले राजावादी भन्लान्, अब राजावादी त सबै थिए । को राजावादी, को नराजावादी । कविले कसैलाई वास्ता गर्दैन । आफू लेख्छ । म आफ्नो सिर्जनाको काम गर्छु ।’

०००००

राष्ट्रकवि घिमिरे आफूलाई अहिलेको मान्छेसँग दाँज्न नहुने बताउँथे । भन्थे, ‘म सय वर्ष कसरी बाँचे ? सय वर्ष बाँच्नु मात्र ठूलो कुरो होइन । मैले के उपलब्धि हासिल गरेँ त ? सय वर्ष बाँच्नु मात्र पनि उपलब्धि त हो । मैले भन्ने गरेको छु– मान्छेले सकभर राष्ट्र र मानवताका निम्ति केही न केही उत्तम कार्य गर्नुपर्छ । उसलाई हुर्काएको समाजलाई पनि केही दिनुपर्छ । भार भएर बाँच्नु ठूलो काम होइन ।’ आठ दशकसम्म सक्रिय लेखनमा बाँचेका उनी एउटा मान्छे कवि, मानवीय हुनका लागि सबैभन्दा ठूलो कुरा आफू के गर्न सक्छु भन्ने कुरामा स्पष्ट हुनुपर्ने बताउँथे ।

एकपटक राष्ट्रकविलाई सोधिएको थियो, ‘तपाईंले यति लामो सामयसम्म आइपुग्दा धर्मपत्नीलाई एक वाक्यमा परिभाषित गर्नुप¥यो भने कसरी गर्नुहुन्छ ?’ उनको जवाफ थियो, ‘उनी एउटा काँध हुन् र म अर्को काँध हुँ ।’ तर, अब एउटा काँध मात्र बाँकी रह्यो, महाकाली घिमिरेको । अबको बाँकी जिम्मेवारी उनको एउटै काँधले बोक्नुपर्नेछ ।

४१ वर्षकै उमेरमा घिमिरेले भनेका थिए–यो गीत म बितिसकेपछि मात्र बजाउनू, मलाई नसुनाउनू

त्यसरी होओस् मरण

जसरी सुत्छन् तारमा गीतका चारु चरण

हिमालचुली देशमा, दिनको शान्त भेषमा

जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण

त्यसरी होओस् मरण

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन

बिहानीपख रातको, कुसुम पारिजातको

जसरी जान्छ झरेर, भुइँमा विनापवन

त्यसरी होओस् मरण ।।

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन

बादलको सेतो रासमा, दुइटा मूर्ति पासमा

जसरी शिर नुहाई, आफैँमा हुन्छन् अर्पण

त्यसरी होओस् मरण ।।

अमरापुरी सभामा आफैँलाई गरूँ वरण

त्यसरी होओस् मरण ।।

१ असोज २०१६ मा लेखिएको यो गीत राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘किन्नर किन्नरी’ पुस्तकमा समावेश छ ।

यो गीतलाई आशिष अविरलले संगीत भरेका छन् भने कर्णदासले स्वर दिएका छन् ।

सम्झनामा राष्ट्रकवि (तस्विरहरु)

तपाईको प्रतिक्रिया