इनरुवा, १२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र रक्षाका लागि नेपाली काङग्रेसले जित्नुपर्ने तर्क गर्नुभएको छ । सुनसरीको देवानगन्ज गाउपालिकामा आयोजित चुनावीसभालाई सोमबार सम्बोधन गर्नुहुदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षा, संविधान कार्यान्वयन र आर्थिक विकसको लागि नेपाली काङग्रेसले जित्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले बाम गठबन्धनले जिते संविधान खारेज गर्ने र जनताको अधिकार खोस्ने तर्क गर्नुभयो । प्रधानमन्त्री देउवाले अहिलेको चुनाव लोकतन्त्र जोगाउने र यसको हत्या गर्ने बीच भएकोले सबैलाई गम्भिर भएर लोकतन्त्र पक्षमा मतदान गर्न अपिल गर्नुभयो । उँहाले काग्रेसकै नेतृत्वको सरकाले देशको विकास गरेको र संविधान समेत ल्याएकाले संविधान रक्षाका लागि काङग्रेसले जित्नुपर्ने जिकिर गर्नुभयो ।

उँहाले बाढी पीडितका लागि ३ लाख रुपैयाँ राहतको प्याकेज, भुकम्प पीडितलाई पुनः निर्माण र पुन ः स्थापना गर्ने कार्यक्रम समेत काङग्रेसले ल्याएकाले यसैबाट काङग्रेसले बहुमत ल्याउने दावी गर्नुभयो ।

उँहाले सुनसरीको आरक्ष समस्या समाधान, सिचाइ समस्या समाधान, कृषककोे समस्या समाधान र बेरोजगारी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उँहाले लोकतन्त्रवादीहरुको कारणले गर्दा २००७ सालमा राणा विरुद्धको आन्दोलन र २०६२÷०६३ मा राजा विरुद्धको आन्दोलन सफल पारेकाले यस पटक चुनावबाटै बाम गठबन्धनको दम्भलाई तोड्ने जिकिर गर्नुभयो ।

उँहाले कांग्रेसको नेतृत्वमा संविधान बनेकाले यसको कार्यान्वयन समेत आफ्नै नेतृत्वमा हुने बताउँदै निर्वाचनपछि देशको विकासले गति लिने बताउनुभयो । उँहाले बाम गठबन्धन संविधान विघटन गर्न र जनताको वाक स्वतन्त्रता समेतको अपहरण गर्न बनेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुकमा भएको ध्रुवीकरणले प्राप्त भएका उपलब्धिहरु गुम्ने खतरा रहेकाले आफू र प्रधानमन्त्री संगै प्रचारमा निस्कनु परेको बताउनुभयो ।

नेता पौडेलले काङग्रेसको आन्तरिक कुराहरु मिलाएर आफुहरु एकजुट भएकाले काङग्रेस जित्नेमा दुइ मत नरहेको तर्क गर्नुभयो । पौडेलले मान्छे मार्ने माओवादीलाई शान्तिको बाटोमा ल्याएको र साम्यवादको बिरुद्धमा उभिएकाहरुको बिरुद्धमा काग्रेस रहेकाले काग्रेस नै जित्ने बताउनुभयो ।

पौडेलले सुनसरीका उमेदवारहरुले गनुर््भएको वाचा र प्रतिबद्धता काङग्रेसले साकार पार्ने बताउनुहुदै एमाले र माओवादीले बिखण्डन निम्त्याउने बाहेक अरु केही नगरेकाले त्यसबाट बचेर काङग्रेसलाई मतदान गर्न अपिल गर्नुभयो ।

उहाँले देशमा सात दशक यता सबै काम र विकास काङग्रेसले गरेकाले काङग्रेसलाई जनताले मन पराएको दाबीे माओवादी र एमालेले सबै काममा भाजो हाल्ने समस्या जन्माउने, हत्याहिंसा मचाउने, उत्पात मचाउने र वितण्डा मचाउने पार्टी भएकाले काङग्रेसलाई जिताउनुको विकल्प नरहेको समेत बताउनुभयो ।

सोही कार्यक्रममा कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवम संघीय मामिला र स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि आफूले फोरम लोकतान्त्रिकलाई काङग्रेसमा समाहित गरेको बताउउदै निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने बताउनुभयो । उहाँले बाँकी रहेको ४५ जिल्लामा प्रायः सबै ठाउमा काङग्रेसले जित्ने र सुनसरीको प्रतिनिधिसभाको ४ वटै क्षेत्र र प्रदेशसभाको आठ वटै क्षेत्र जित्ने दाबी गर्नुभयो ।

उहाँले चुनावी आमसभामा भएको मतदाताको अपार सहभागिताले काङग्रेस जितिसकेको संदेश दिएको बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, बाणिज्य मन्त्री मिनबहादुर बिश्वकर्मा, राज्यमन्त्री सुमित्रा थारु, पूर्व राज्यमन्त्री सिताराम मेहता, पार्टीका जिल्ला सभापति राजिव कोइराला, सचिव केदार भण्डारी, क्षेत्रीय निर्वाचन समिति संयोजक श्याम लाल मेहता लगायतको सबै क्षेत्रका उमेदवारहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया