ताप्लेजुङ, मंसिर ११ –हिमाली जिल्ला ताप्लेजुङका हिमाली गाउँमा रहेका चार मतदान केन्द्रका मतपेटकिाहरु सोमबार हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइपुर्‍याएको छ ।

जिल्लाको हिमाली क्षेत्रहरु फक्ताङ्लुङ गाउँपालिका वडा नं. ७ को हिमाली गाउँ याङ्मा साथै त्यसै वडाको ओलाङचुङगोला र फक्ताङलुङ गाउँपालिका –६, ग्याव्ला र घुन्साका मतपेटिकाहरु नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम फुङलिङमा ल्याइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताउनुभयो ।

बारम्बारको प्रयासपछि प्रतिकुल मौसमका बाबजुद पनि हिमाली क्षेत्रका मतपेटिकाहरु हेलिकप्टरमार्फत ल्याइएको जिल्ला निर्वाचन कर्यालयले बताएको छ । जिल्लाको सबैभन्दा उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्र याङ्मामा भएका ५७ मतदातामध्ये सबै भन्दा थोरै १६ अर्थात २८ प्रतिशत मत मात्र खसेको छ । सबैभन्दा थोरै मतदाता अर्थात ४९ जना मतदाता भएको ग्याव्लामा २५ मत खसेको छ ।

हेलिकप्टरबाट ल्याइएको हिमाली पर्यटकीय गाउँ घुन्सा मतदान केन्द्रमा १ एक सय ३१ मतदातामध्ये ४९ जनाले मात्र मत खसालेका थिए । अर्को हिमाली गाउँ ओलाङचुङगोलामा २२२ मतदातामध्ये ९४ मत खसेको निर्वाचन कार्यालयले बताएको छ भने यस केन्द्रको मतपेटिकाहरु पनि हेलिकप्टरमार्फत ल्याइएको छ ।

हिमाली क्षेत्र रहेको हुनाले यो सिजन अत्यन्तै चिसो हुने र घुन्साका बासिन्दा मंसिरको दोश्रो सातादेखि गाउँ नै छोड्ने गर्दछन् । तर, यो बेला गाउँ छोड्ने बेला भए पनि चुनावमा सक्रियताका साथ भाग लिन स्थानीयबासीन्दाबसेको बताइन्छ ।

ताप्लेजुङ जिल्लामा रहेका ७३ स्थानमा रहेका १ सय १४ मतदान केन्द्रमध्ये २४ स्थानका ४० मतदान केन्द्रको मतपेटिकाहरु संकलन भइसकेको अधिकृत कार्कीले बताउनुभयो । जिल्लामा ७८ हजार ३ सय ९७ मतदातामध्ये ६६.१ प्रतिशत अर्थात ५१ हजार ८२० मत खसेको थियो ।

तपाईको प्रतिक्रिया