संखुवासभा, मंसिर ११ –मौसम बिग्रिएर हेलिकप्टर जान नसकेपछि संखुवासभाका हिमाली क्षेत्रका ९ केन्द्रको मतपेटिका ल्याउन समस्या भएको छ ।

सदरमुकाम खाँदबारीबाट सिलिचोङ, मकालु र भोटखोला गाउँपालिकामा हेलिकप्टर जान सकेको छैन ।

नेपाली सेनाको हेलिकप्टरले विकट मानिएको भोटखोलाका किमाथांका, थुदाम, रिदाक, हुङगुङ, हटिया, चेपुवा, च्याम्ताङ, सिलिचोङको दीपज्योति र मकालुको गौथला मतदान केन्द्रबाट मतपेटिका ल्याउन नसकेको हो ।

१ सय ५३ मतदान केन्द्र रहेको संखुवासभामा १ सय ४३ मतदान केन्द्रको मतपेटिका संकलन भइसकेको मुख्य निर्वाचन अधिकृत प्रकास राउतले बताउनुभयो । यी केन्द्र पुग्न खाँदबारीबाट कम्तीमा ५ दिन पैदल हिँड्नु पर्छ ।

सदरमुकाम ल्याइएका प्रदेश नम्बर ‘ख’ का मतपेटिका भने राजनीतिक दलका प्रतिनिधिको रोहबरमा सिलबन्दी गरिएको छ । मतपेटिकालाई सुरक्षित गर्न सशस्त्र प्रहरीलाई जिम्मा लगाइएको छ ।

सुरक्षाकर्मीसँगै राजनीतिक दलका प्रतिनिधिले मतपेटिकाको निगरानी गर्ने छन् । मतपेटिका भएको कोठा र आसपासका क्षेत्रमा सीसी क्यामेराबाट निगरानी गरी उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको संखुवासभामा १ लाख ५ हजार ८५ मतदाता रहेका थिए । जसमध्ये ६९ हजार १ सयले मतदान गरेका थिए ।

चुनाव सम्पन्न भए पनि आसन्न दोस्रो चरणको चुनावपछि मात्र दुबै मतदानको मतगणना सुरु गरिने छ ।

तपाईको प्रतिक्रिया