बर्दिया, मंसिर ११– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको दुई तिहाई बहुमत आउने निश्चित भएको बताउनु भएको छ । बर्दियाको गुलरियामा भएको वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपल्टको चुनावमा वाम गठबन्धनको दुई तिहाई बहुमत आउने बताउनु भएको हो ।

वामपन्थीहरुको एकता चुनाव अगाडि नै गर्ने योजना भए पनि चुनाव नजिकै आइसकेकोले चुनावी तालमेल मात्र गरेको अध्यक्ष ओलीले बताउनुभएको छ । ओलीले चुनाव सकिएलगत्तै वाम पन्थीहरुको एकता निश्चित हुने बताउनुभयो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता मिलेर खानको लागि नभएर देशको विकास, शान्ति सुरक्षा, लोकतन्त्रलाई बलियो बनाउनको लागि भएको ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीले चुनावपछि गठबन्धनको संयुक्त घोषणापत्रमा लेखिएका सबै योजनाहरु पूरा गर्ने गरी काम गर्ने बताउनुभयो । त्यस्तै चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापाले नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभयो ।

चुनावपछि वामपन्थीको स्थायी सरकार निर्माण हुन गइरहेकोले नेपाल विकासको गति लिएर नयाँ युगको अगाडि आउने थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया