झापा । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीले नेपालमा तानासायी व्यवस्था लाद्न खोजेको बताएका छन् । एमाले र माओवादीले गठबन्धन गरेर मुलुकको संविधान समाप्त पार्न खोजेको उनको आरोप छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ स्थित गौरादहमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताका अधिकार खोस्ने नियतका साथ एमाले र माओवादीले गठबन्धन गरेको बताए ।

ओलीको निर्वाचन क्षेत्रमा पुगेर कांग्रेस सभापति देउवाले कम्युनिष्टलाई मतदान नगर्न मतदातासँग अपील गरे । देउवा हेलिकप्टर लिएर वरिष्ठ नेता रामचन्द्र पौडेलका साथ ओलीको निर्वाचन क्षेत्रमा पुगेका थिए । केही दिनअघि एमाले अध्यक्ष ओलीले पनि डडेल्धुरास्थित देउवाको निर्वाचन क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्दै वाम गठबन्धनका लागि मत मागेका थिए ।

त्यसको ४ दिनपछि देउवा पनि ओलीको निर्वाचन निर्वाचन क्षेत्र आएर लिखित मन्तव्य राख्दै कांग्रेसका लागि भोट मागेका हुन् । देउवाले मन्तव्य राखेको मञ्चदेखि दायाँपट्टिको घरमा एमाले अध्यक्ष ओलीको तस्विरसहितको ठूलो चुनावी व्यानर प्रष्टै देखिन्थ्यो ।

मुलुक विभाजन गर्न खोजेको आरोप

आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्ट शासनमा लेख्न, बोल्न र संगठित रुपमा आफ्ना मुद्दा उठाउन नपाइने पनि जिकिर गरे । प्रधानमन्त्री देउवाले वाम गठबन्धनमा आवद्ध दलहरुले मुलुक विभाजन गर्न खोजेको भन्दै यसतर्फ जनता सचेत हुनुपर्ने बताए । उनले संविधान उल्ट्याउन खोज्ने राजनीतिक शक्तिविरुद्ध उत्रिनु अहिलेको आवश्यकता भएको भन्दै मतदानअघि एकपटक विचार गर्न मतदातालाई अपील पनि गरे ।

‘गठबन्धनले मधेशी र पहाडीबिच लडाईं गराउन खोज्दैछ,’ प्रधानमन्त्रीले भने, ‘कांग्रेसले ७ सालदेखि लोकतन्त्र र प्रजातन्त्रका लागि लड्यो, लोकतन्त्र र प्रजातन्त्र ल्यायो, अब तपाईंहरुले लोकतन्त्र रोज्ने कि अधिनायकवाद रोज्ने ?’

झापाका लागि देउवाका योजना

उनले झापाका बाढीपीडितका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ बराबरको आवासको घोषणा गरे । १० हजार रुपैयाँ बराबरको कपडा, २ हजार रुपैयाँ बराबरको मल बीउ तथा निःशुल्क स्वास्थ्य शिविर र काठ दाउराको व्यवस्था गरिने उनले घोषणा गरे ।

रतुवा, सिस्ने र मावा खोलाको बाढी नियन्त्रण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ । रवी–चिसापानी सडक चौडा बनाउने, हुलाकी राजमार्ग तीव्र रुपमा अगाडि बढाउने, आदिवासी जनजाति रंगशाला बनाएरै छाड्ने उनले दाबी गरे ।

वाम गठबन्धनको औचित्य सकियोः पौडेल

सभामा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा वाम गठबन्धनको औचित्य नभएको दावी गरे । उनले गठबन्धनभित्र अन्तरद्वन्द्व चर्किएको भन्दै यो अनिष्टको संकेत भएको बताए ।
हरेक वर्ष बाढी आएर पीडामा रुमल्लिने झापा एमाले अध्यक्ष ओलीको ‘वादवाण’मा पनि प्रताडित हुने गरेको पौडेलले बताए । कांग्रेसले वाम गठबन्धनलाई बहुमत ल्याउनबाट रोक्ने उनको दाबी थियो ।

‘गठबन्धनले नेपाललाई फेरि साम्यवादी जञ्जिरमा लाने प्रपञ्च रच्दैछ,’ नेता पौडेलले भने, ‘गठबन्धनतिर लागेर ओलीजीले पनि आफ्नो औचित्य समाप्त पार्नुभयो ।’ गठबन्धनले सत्तालाई निरंकुशतातर्फ लैजाने तयारी गरिरहेको पौडेलको दाबी थियो ।

‘दुई तीहाई बहुमत ल्याएर १० वर्षभित्र मुलुकमा साम्यवाद ल्याउने भन्दैछन्,’ पौडेलले प्रश्न गर्दै भने, ‘नेपाललाई फेरि कहाँ लैजान खोजेको रु कुन साम्यवाद ल्याउन खोजेको रु’ ४ जना कम्युनिष्ट प्रधानमन्त्री भएर पनि मुलुकलाई संविधान दिन नसकेको पौडेलले बताए ।
झापाका बाढीपीडित, किसान, सुकुम्बासी, मजदुरको समस्या समाधान कांग्रेसले गर्ने पौडेलको भनाइ थियो । नेता पौडेलले कांग्रेसले बहुमत ल्याउने पनि दाबी गरेका छन् ।

ओलीलाई गाली

पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पुग्नुअघि सभालाई कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले सम्बोधन गरेका थिए । सभामा बोल्ने सबै वक्ताले एमाले अध्यक्ष ओलीको तीव्र आलोचाना गरे ।

कार्यक्रममा पदम पौडेल, फूलवती राजवंशी, ढुण्डीराज भण्डारी, रोहितकुमार साह, दिलीप वान्तवा राई, सुरेश सुब्बा, भारतेन्दु मल्लिक, क्षेत्र नम्बर ५ ‘क’ का कांग्रेसका प्रदेशसभा उम्मेदवार अनिल प्रसाईं, ५ ‘ख’ का उम्मेदवार राजन ढुंगानालगायतले बोलेका थिए । वक्ताहरुले ओलीले मन लागेजति सबै बोल्न थालेको आरोप लगाए । आफ्नै निर्वाचन क्षेत्रमा केही गर्न नसक्नेले मुलुक बनाउने सपना बाँढिरहेको उनीहरुको भनाइ थियो ।

सो क्षेत्रका कांग्रेस उम्मेदवार डा। खगेन्द्र अधिकारीले आफू विश्वविद्यालयमा पढाउने प्राध्यापक भएर पनि पेशा छाडेर मुलुक बनाउने संकल्पका साथ राजनीतिमा आएको बताए । ‘चुनावी प्रतिष्पर्धामा आएको छु, ओलीजीको जस्तो तल्लो स्तरको गाली म कसैलाई पनि गर्दिनँ,’ उनले भने, ‘ओलीजीमा धेरै घमण्ड पलाएको छ ।’ सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बेले कांग्रेसले मात्र मुलुकलाई सम्बृद्ध बनाउने अठोट व्यक्त गरे ।

तपाईको प्रतिक्रिया