गुराँस न्युज । तेह्रथुम, ११ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिष्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाउनुभएको छ । यो चुनाव संसदीय व्यवस्था सहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन ? भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताउनुभयो ।
सोमबार तेह्रथुमको म्याङलुङ्गमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिष्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्र रुपमा हिडडुल समेत गर्न पाउदैनन्,’ भन्नुभयो ।
बाम–गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिष्ट शासन लागु गर्ने योजनामा रहेका प्रधानमन्त्री देउवाको तर्क छ । ‘नेपाली कांग्रेस बाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ , त्यसैले यो चुनाव जित्न आवश्यक छ ।’
उहाँले कांग्रेसले जनतालाई मालिक मानेर सर्वसत्ता सम्पन्न अधिकार दिएको तर कम्युनिष्टहरुले जनतालाई सधै डर त्रासमा राखेर शासन गर्न खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले जनतालाई बुटमुनि राखेर दमन गर्ने ध्येयमा रहेको कुरा बेलैमा बुझेर लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।
उहाँले कांग्रेसले ००७ सालदेखि नै जनताको हक अधिकार रक्षा गर्दै जनतालाई सर्वशक्तिशाली मानेर आएको पार्टी भन्दै कम्युनिष्टले राजा महेन्द्रको तानाशाही व्यवस्थालाई व्युँताउन खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री देउवाले कम्युनिष्ट शासन संसारबाटै खत्तम भइसकेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले जुझारु, क्रियाशील र जनजाति महिला नेतृ सीता गुरुङलाई जिताएर जिल्लाको विकास र समृद्धिलाई अगाडि बढाउन आग्रह गर्नुभयो । सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बाम–गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिष्टहरु सधै हिसांको बाटोतर्फ अग्रसर रहने अरोप लगाउनुभयो । नेता पौडेलले कम्युनिष्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै कांग्रेसले सधै समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
उहाँले कम्युनिष्ट एकता प्रचण्डको जंगबहादुर बन्ने र ओलीको राजा महेन्द्र बन्ने इच्छाको प्रतिफल भएको आरोप लगाउनुभयो । ‘ राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, बामपन्थीले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन’, वरिष्ठ नेता पौडेलले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरुसँग अब नेपाली जनता नझुक्किने धारणा राख्नुभयो । उहाँले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारत लगायतका मुलुकको विकास सम्भव भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसले गरीबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वाभलम्वन बनाउन चाहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।
कार्यक्रममा बोल्दै भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री एवम् तेह्रथुमबाट प्रतिनिधि सभाकी उम्मेदवार सीता गुरुङले अढाई दशकसम्म जिल्लाको ताला चाबी बामपन्थीको हातमा परेकाले विकास निर्माणमा पछि परेको बताउनुभएको छ । उहाँले जिल्लाको विकास र समृद्धि नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै आफुले समानुपातिकबाट सांसद हुँदा प्रत्यक्ष निर्वाचित भन्दा बढी काम गरेर देखाएको बताउनुभयो ।
प्रत्यक्ष निर्वाचित हुने पुरुष नेताहरुको असहयोगकै कारण जिल्लाको विकासले तिव्रता नलिएको नेतृ गुरुङको दाबी थियो । कांग्रेसको केन्द्रीय सदस्य समेत रहनुभएकी गुरुङले अब जिल्लाको समृद्धिको ढोका कांग्रेसले खोल्ने भन्दै व्यवसायिक कृषि र पर्यटन जिल्लाको समृद्धिका आधारहरु भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांंग्रेसका महासमिति सदस्य तुलसी सुब्बा, पुर्वसांसद गणेश विमली, प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फे लगायतले मन्तव्य राख्नुभयो । आम सभा नेपाली कांग्रेस तेह्रथुमका सभापति तथा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाको अध्यक्षता सम्पन्न भएको थियो ।