तेह्रथुम, ११ मंसिर । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले पाँच वर्षभित्र आठराई गाउँपालिका जिल्लाकै नमुना बन्ने बताउनुभएको छ । अहिलेसम्म आठराई गाउँपालिका जिल्लाकै विकटको रुपमा परिचित भएको भन्दै राज्यमन्त्री गुरुङले अब संघीय व्यवस्था लागु भइसकेपछि पाँच वर्षमा आठराईले विकासको कोल्टे फेर्ने धारणा राख्नुभएको हो ।

आइतबार आठराई गाउँपालिकाका विभिन्न गाउँमा भएका चुनावी सभाहरुमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा प्रभावशाली महिला नेतृ राज्यमन्त्री गुरुङले आठराई गाउँपालिकाका सबै वडामा चालु आर्थिक वर्ष भित्रै विद्युतीकरण र रिङ रोड निर्माण सुरु हुने बताउनुभयो । यहाँको कृषि र पर्यटनको सम्भावना बोकेका क्षेत्रको विकास गरी समृद्ध आठराई निर्माणको खाका अघि बढिसकेको राज्यमन्त्री गुरुङले बताउनुभयो ।

पाँच वर्षभित्र आठराईबासी आफैँ आत्मनिर्भर र स्वाबलम्बी बनिसक्ने नेतृ गुरुङको भनाई थियो । मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तेह्रथुमबाट पं्रत्यक्ष उम्मेदवार समेत रहनुभएकी गुरुङले कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले त्यसको कार्यान्वयन र आर्थिक समृद्धिका लागि अब पनि कांग्रेसको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पुर्वसांसद गणेश विमलीले मुलुकमा शान्ति स्थापना, दिगो विकास र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसलाई बहुमतले विजयी गराउन आग्रह गर्नुभयो । नेता विमलीले तेह्रथुम जिल्लाको विकास र समृद्धिका लागि नेपाली कांग्रेसका शिक्षित, विद्धान र सक्षम युवा उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फेले आफु विजयी भए आफुले राज्यको तर्फबाट प्राप्त गर्ने सबै सुविधा वापतको रकम आफ्नो निर्वाचन क्षेत्रको विकासमा खर्च गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रका पुरानो शैक्षिक इतिहासलाई व्युँताउन कृषि प्राविधिक शिक्षालय स्थापना, व्यवसायिक तथा प्राविधिक शिक्षा सहित चौतर्फी विकासका लागि आफुले पहल गर्ने धारणा राख्नुभयो । उहाँले लोकतन्त्रको रक्षा गर्दै नयाँ संविधानको कार्यान्वयन र आर्थिक समृद्धि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने बताउनुभयो । नेता सम्बाहाम्फेले विगतदेखि वर्तमानसम्म मुलुकमा भएका सबै परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको भन्दै अब पुनः जनताले आफ्नो जनजीविकाको रक्षा गर्न कांग्रेसलाई जिताउने बेला आएको बताउनुभयो ।

नेपाली कांग्रेसले आइतबार आठराईको सक्रान्तिको बुकी, इवा, छातढुंगा, चुहानडाँडा र थोक्लुङमा छुट्टा–छुट्टै चुनावी सभा गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य हरि डाँगी, महाधिवेशन प्रतिनिधिहरु भीष्म थपलिया र केशव भेटुवाल, पुर्वजिल्ला सदस्य नारायणकुमार ईङनाम, हेमन्त गुरुङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया