काठमाडौँ । गत आर्थिक बर्ष २०७६÷७६ मा सुन आयात ६१.११ प्रतिशतले घटेको छ । भन्सार बिभागले हालै सार्वजनिक गरेको गत आवको बैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

बिभागकाअनुसार गत आवमा रु. १३ अर्ब ४६ करोडको सुन आयात भएको छ । अघिल्लो आव २०७५÷७६ मा भने ३४ अर्ब ६१ करोड रुपैयाँको सुन आयात भएको थियो ।
परिणामका आधारमा गत आवमा सुन आयात ६८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ७ हजार ४९३ केजी सुन आयात भएको थियो, गत आवमा २ हजार ४०० केजी सुन आयात भएको छ ।

बिशेषगरि मुल्य बढ्दा नेपाली बजारमा यसको माग घटेपछि सुनको आयात घटेको हो । साथै, कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण पनि सुन आयातमा कमी आएको हो ।
नेपाल बैंकर्स संघकाअनुसार चैत ११ गतेदेखि लकडाउन भएदेखि यता सुन आयात नै भएको छैन ।

बिशेषगरि चीन र अमेरिका बीचको व्यापारिक युद्ध, इरान र अमेरिका बीचको तनाव लगायतका कारण गत आवको सुरु देखि नै सुनको मुल्य बढ्दै गयो । गत बर्षको असारमा ६० हजारको हारहारीमा रहेको सुनको मुल्य अहिले बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ । बीचमा फेरी कोरोना भाइरसले पनि सुनको मुल्य प्रभावित भयो । यी यस्ता कारणले सुनको मुल्य बढेपछि नेपाली बजारमा माग घट्यो । त्यसपछि बैंकहरुले नै आयात नै घटाएका थिए ।

साथै, चालु आवमा पनि सुन आयात घट्ने बताइएको छ । सरकारले सुन आयातको कोटा दैनिक २० केजी बाट घटाएर १० केजीमा सिमित राखेको छ । साथै, कोरोनाको असर कहिलेसम्म पुग्छ भन्ने पनि ग्यारेण्टी छैन, फलस्वरुप चालु आवमा अझै कम सुन आयात हुने व्यवसायीहरु बताउछन् ।

तपाईको प्रतिक्रिया