काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा मनाइने विभिन्न जात्रा पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्न आग्रह गरेको छ । लकडाउन खुलेपनि कोरोना संक्रमण फैलिने जोखिम कम नभएको भन्दै महानगरपालिकाले सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । ५० औँ नगर कार्यपालिकाको बैठकपछि मेयर विद्यासुन्दर शाक्यले संक्रमण शुन्यमा नपुगेसम्म ठूलो भीड सिर्जना गरेर नजिकिएको गाई जात्रासहित अन्य जात्रा पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्न आग्रह गरे ।

‘पछिल्ला दिनमा उपत्यकाभरि नै कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ,’ उनले भने, ‘सुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो । लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेहरुको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।’

मेयर शाक्यले गाइजात्रालगायतका अन्य चाडपर्वलाई पनि विधि पु¥याएर घर–घरमै मनाए पनि भिडभाड भने नगर्न आग्रह गरे । ‘केही दिन अघि मात्रै महावौद्धमा केहीलाई कोरोना पोजेटिभ देखिएको समाचार आयो । त्योसँगै नेपाल प्रहरी प्रधान कार्यालयमा पनि ४० बढीलाई कोरोना पोजेटिभ देखियो,’ मेयर शाक्यले भने ‘आज मात्रै पनि उपत्यकामा ४५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यस्तो अवस्थामा २५–३० हजार मानिस एकै पटक सडकमा आउँदा नसोचेको संक्रमण फैलिन सक्छ । यही कुरालाई ध्यानमा राखेर महानगरपालिकाको नगर कार्यपालिका बैठकलले यस्तो विषम परिस्थितिमा भिडभाड गरेर जात्रा–पर्व नमनाउन सबै महानगरवासीलाई अपिल गरेको छ ।’

दिगम्वत भएका आफन्तहरुको सम्झनामा मनाउँदै आएको गाइजात्रा पर्वलाई यो पटकका लागि विधि पूरा गरेर आ–आफ्नो घरमा मात्रै मनाउन पनि उनले आग्रह गरे । मेयर शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे । ‘अहिलेसम्मको रिपोर्टलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी संक्रमण देखिएको छ,’ उनले भने ‘उनीहरुबाटै समूदायमा समेत कोरोना संक्रमण फैलिन सक्ने संभावना भएकाले सबै भन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ । कोरोना संक्रमण फैलिन नदिनका लागि घरधनी र सर्वसाधारण पनि सचेत हुनुको अर्को विकल्प छैन ।’

उनले संघीय सरकारले उपत्यका प्रवेश गरेपछि उनीहरुलाई पीसीआर गर्ने र उपचार गर्ने भन्दा पनि जथाभावी उपत्यका प्रवेश गर्ने कुरालाई नै प्रवेश विन्दुबाटै नियन्त्रण गर्नेमा ध्यान दिनु पर्नेमा जोड दिए । ‘हामीले पहिलादेखि नै जथाभावी उपत्यका प्रवेश गराएर शान्त तलाउमा ढुंगा हान्ने काम गर्नुहुन्नँ भन्दै आएका छौँ । हामी अहिले पनि त्यो अडानमा अडिक छौँ’ उनले भने, ‘उपत्यका बढी जनघनत्व भएको ठाउँ हो । यहाँ कोरोना संक्रमणको जोखिम बढ्यो भने नियन्त्रण बाहिर जाने खतरा बढ्छ र हामी सबैलाई जोखिम बढी हुन्छ ।’

बैठक अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले काठमाडौँ जस्तो जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलियो भने जटिल समस्या आउन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरे । उनले पछिल्लो समय भारतबाट विभिन्न कामका शिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा बढी संक्रमण देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले नाका–नाकामा पीसीआर गर्दै आएको स्मरण गराउँदै स्थानीय तहलाई पनि त्यस्ता व्यक्ति आएको थाहा पाए अनिवार्य रुपमा १४ दिन क्वारेन्टायनमा बस्न लगाउन आग्रह गरे ।

उनले त्योसँगै परिक्षणको दायरामा ल्याउन सहयोग पनि मागे । त्यो भयो भने धेरै हदसम्म नियन्त्रण गर्न सकिने उनले बताए । ‘पछिल्लो समय लकडाउन खुलेसँगै रोग नियन्त्रणमा आयो भन्ने हिसावले लापरवाही गर्दा थप समस्या भएको छ,’ उनले भने, ‘मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरीकारले प्रयोग नगर्ने गर्दा संक्रमणको जोखिम बढेको छ । मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशत वढी संक्रमणको जोखिमबाट बच्न सकिन्छ ।’ उनले सामाजिक दूरी कायम गर्नेलगायतका कुरामा पनि ध्यान दिन आग्रह गरे ।

बैठकले काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७७, मतिदेवी मन्दिर व्यवस्थापन कार्यविधि, २०७७ र स्वास्थ्य संस्था दर्ता नविकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधी, २०७७ पनि पारित गरेको छ । त्यसैगरि काठमाडौँ महानगरपालिका वडा–९ को भवन निर्माणको भेरिएसन स्वीकृत गर्नेलगायत निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया