काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या बढ्न थालेको हो ।

नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । बुधबार कोरोना संक्रमित पर्साका ७० वर्षीय र ६८ वर्षीय पुरुष तथा मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बिहीबार बताए ।

देशभर कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । पछिल्लो २४ घन्टामा २७४ जनामा संक्रमण पुष्टि भएसँगै जम्मा संक्रमितको संख्या १९ हजार ५४७ पुगेको हो ।

बिहीबार थपिने संक्रमितमा काठमाडौं उपत्यकाका ४५ जना रहेका छन् । हाल पाँच हजार २२७ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा २२७ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १४ हजार २४८ जना ‘डिस्चार्ज’ भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा छ हजार ३०४ जनाको ‘पीसीआर’ परीक्षण भएको छ । देशभर हाल १३ हजार २०१ जना ‘क्वारेन्टिन’मा रहेका छन् । हाल पाँच हजार २२७ जना ‘आइसोलेसन’मा रहेका छन् ।

भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच जिल्ला संक्रमणमुक्त हुन सफल भएका छन् ।

तपाईको प्रतिक्रिया