तेह्रथुम । सरकारले कानुनबमोजिम एकल महिलालाई जुनसुकै उमेरमा पनि सामाजिक सुरक्षा भत्ता दिन्छ । आर्थिकरुपमा विपन्न भएपनि पुरुषहरुले एकल भएकै कारण सामाजिक सुरक्षा भत्ता दिने संघीय सरकारको नीति छैन ।

पुरुषहरुले सामाजिक सुरक्षा भत्ता पाउन ७० वर्ष नै कुर्नुपर्छ । तर, यहाँको एक स्थानीय सरकारले भने एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकामा रहेका एकल पुरुषहरुलाई पनि सामाजिक सुरक्षा भत्ता दिने नीति पारित भएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताए ।

‘आर्थिक रुपमा एकदमै विपन्न तथा विभिन्न दीर्घ रोगका कारण पीडित बन्दै आएका एकल पुरुषलाई यो कार्यक्रमले राहत मिल्ने छ,’ अध्यक्ष लिम्बुले भने । देशभर सात सय ४४ स्थानीय तह छन् । महिला र पुरुषलाई समान सामाजिक सुरक्षा भत्ता दिने अरु स्थानीय तह सायदै होलान् ।

सरकारले हरेक नागरिकलाई गाँस, बास र कपासको मौलिक हक दिएको छ । सोहीअनुसार जेष्ठ नागरिक, जेष्ठ दलित, अपांङ्ग तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

गाउँपालिकाले एकल पुरुषहरुको तथ्याङ्क सकलन गरी वार्षिक रुपमा एकमुष्ठ पाँच हजार दिइने प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए । ‘एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताका लागि आ.व. ०७७÷७८ को गाउँसभाबाट नीति तथा कार्यक्रममा समावेश भएको छ’, उनले भने ।

आर्थिक विपन्नताकै कारण कतिले सामान्य उपचारसम्म पाउन नसकेको र बिहान बेलुका छाक टार्न मुस्किल बन्दै गरेको अवस्थामा सामाजिक सुरक्षा भक्ताले एकल पुरुषलाई ठुलै राहत मिल्ने गाउँपालिकाका उपाध्यक्ष तारा खरेल ढकालले बताइन् ।

उनले भनिन्, ‘एकल महिलाझैँ एकल पुरुषको पीडा पनि कम छैन । सन्तानविहीन पुरुषका लागि यो कार्यक्रम अझ प्रभावकारी बन्ने छ ।’

गाउँपालिकाले अघिल्ला वर्षमा जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार दिनुको साथै गाउँपालिका उपहारको रुपमा लौरो प्रदान गरेको थियो । विभिन्न दिर्घरोगीलाई ५ हजारदेखि २५ हजारसम्म उपचारका लागि आर्थिक सहयोग दिइंदै आएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

‘विपन्न परिवारका लागि निशुल्क मिटरबक्स तथा जस्तापाता लगायत विभिन्न कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्दै आएको छ’, उनले भने । जटिल बिरामीहरुको घरमै पुगेर गाउँपालिका अध्यक्ष आफैंले उद्धार गरी उपचारमा सहयोग गर्दै आएको उनले बताए ।

तपाईको प्रतिक्रिया