भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा संरक्षणमा जोड दिएको छ । नगरपालिकाले संरक्षणको पर्खाइमा रहेका जीर्ण मन्दिर, पोखरी, पाटी, भवन र ऐतिहासिक तथा मौलिक कला झल्किने दरबारहरुको पूरानै शैलीमा पुनर्निर्माण गरेको हो ।

भग्नावशेषमा परिणत भइसकेका सम्पदाले पुनर्जीवन पाएका छन् । चौरमा परिणत भएका पोखरीमा पानी भरिएका छन् । जीर्ण मन्दिरहरु पूरानै शैलीमा उभिएका छन् भने फोहोर पाल्ने पाखाहरु पार्कमा परिणत भएका छन् ।

नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि नगरपालिकाले सम्पूर्ण ध्यान लगाएर सम्पदा पुनर्निर्माण, पुर्वाधार विकास र सरसफाई सम्बन्धी योजनाहरुमा काम गरिरहेको छ । ‘हाम्रो प्राथमिकता पुर्वाधार विकास र सम्पदा पुनर्निर्माण हो,’ मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘धेरै वटा पोखरी, मन्दिर, पाटीपौवा लगायत सम्पदाको पुनर्निर्माण धमाधम अघि बढेको छ ।’

यो नगरपालिकाले जापानीज प्रविधिको प्रयोग गरी फोहोर व्यवस्थापन सुरु गरेको छ । आफ्नो क्षेत्रको फोहोर व्यवस्थापनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उदेश्यसहित भित्राइएको प्रविधिले नगर क्षेत्रका करिब पाँच हजार घरको फोहोर व्यवस्थापन सुरु भएको मेयर श्रेष्ठले बताए । नगरपालिकाले विकास निर्माण र सम्पदा क्षेत्रमा गरेका कामको प्रगतिबारे सञ्चारकर्मीलाई स्थलगत अवलोकन गराएको छ ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाल, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, नेशनल मिडिया सेण्टरका अध्यक्ष पेशल आचार्य, संस्कृतिकर्मी नबिनप्रकाश श्रेष्ठ सहित काठमाडौं र भक्तपुरमा कार्यरत बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारको टोलीले स्थलगत रुपमा पदयात्रा गरेका छन् ।

नगरपालिकाले सञ्चारकर्मीहरुलाई शंखधर चोकबाट शंखधर पार्क, बालकुमार मन्दिर, विष्णुकुण्ड, दुई पोखरी, जीवित संग्रहालय, कम्पोष्ट मल उत्पादन, सिद्धिकाली मन्दिर, नगदेश, बोडेसम्मको मन्दिर, पाटी पौवा, पोखरी, इनार, दरबार लगायत सम्पदाहरुको अवलोकन गराएको हो ।

त्यसक्रममा मेयर श्रेष्ठले लोपोन्मुख सम्पदाहरुलाई पूरानै शैलीमा उभ्याउने अभियान चलाएको जानकारी दिए । सो क्रममा मेयर श्रेष्ठले ३१ वटा सम्पदाका बारेमा जानकारी गराएका थिए ।

  

तपाईको प्रतिक्रिया