म्यालुङ नगरपालिका–१ का वडाध्यक्ष लिम्बु ।

तेह्रथुम । सरकारी कार्यालयले कति खर्च गर्छन् ? के–के शीर्षकमा खर्च गर्छन् ? त्यो सर्वसाधारण नागरिकको पहुँचमा हुदैन । नागरिकले जान्न चाहेमा पनि सबै कार्यालयले सजिलै देखाउदैनन् ।

हुन त अहिले सूचनाको हकको व्यवस्था छ । नागरिकले निवेदन दिए कानुनबमोजिमका सूचना दिनैपर्ने व्यवस्था छ । तर, त्यो कानुनी प्रक्रियाका बारेमा धेरै नागरिक जान्दैनन् । स्थानीय तहमा ती नै नागरिकले चाहेका जनप्रतिनिधि निर्वाचित भएपनि पनि स्थानीय तह जनमैत्री र पारदर्शी नबनेका उदाहरण धेरै छन् । तर, तेह्रथुमका एक वडाध्यक्षले भने आफुले वडा कार्यालयमार्फत वडामा गरेका काम र खर्चको विवरण सबैसामु छर्लङ्ग पार्ने गरेका छन् ।

आर्थिक वर्ष सकिएको एक साता बित्यो । धेरै स्थानीय तहमा अहिले पनि कागजात मिलाउने र भुक्तानी दिन कर्मचारी र जनप्रतिनिधिलाई चटारो छ । तर, तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–१ का वडाध्यक्ष इन्द्रराज लिम्बुले भने आ.व. ०७६÷७७ को खर्च विवरण नै सार्वजनिक गरिसकेका छन् । ‘जनप्रतिनिधिको पहलमा योजना निर्माण, कार्यान्वयन र भुक्तानीको सहजीकरणका काम भएका छन्, मलाई वडासदस्य र कर्मचारी साथीहरुले पनि सघाउनुभएको छ,’ वडाध्यक्ष लिम्बुले भने, ‘त्यसैले बेलैमा काम सकेर भुक्तानी गर्न र खर्च सार्वजनिक गर्न कुनै समस्या छैन ।’

आफुले वडामा निर्वाचित भएपछि वडाक्षेत्रको विकास र प्रगतिकालागि दत्तचित्त भएर पारदर्शीरुपमा काम गरेको उनले बताए । कार्यक्रममा वडा कार्यालयले एक आर्थिक वर्षमा सञ्चालन गरेको योजना, कार्यक्रम र गौरवका आयोजनाको प्रगति, खर्च र लक्ष्य उदेश्यका विषयमा उनले सार्वजनिक गरेका छन् ।

जिल्लाकै सदरमुकाम रहेको म्याङलुङ बजारसमेत आफ्नो वडामा पर्ने भएकाले बजार क्षेत्र र गाउँ क्षेत्रलाई भेदभावपुर्ण व्यवहार नगरी बजारको हकमा बजार क्षेत्रलाई ‘सुन्दर बजार’ बनाउने जिम्मेवारी निभाएको उनले बताए । भने, ‘बजार क्षेत्रमा सडक, सिडी ढलान, बाटो ढलान, सडक बत्ती, फोहोरमैला व्यवस्थापन लगायतका काम भएका छन्, ग्रामीण क्षेत्रमा पनि आवश्यकता र बजेटको सीमाअनुसार काम भइरहेको छ ।’

वडा क्षेत्रको विकासमा आफुहरुले व्यक्तिगत स्वार्थलाई नजोडीकन नागरिकको हितमा काम गरेको वडा सदस्य तारा श्रेष्ठले बताए । वडाले सो आर्थिक वर्षमा गरेको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ ।

पत्रकार गौतम नगद पाँच हजारसहित पुरस्कृत

सो अवसरमा वडा कार्यालयको तर्फबाट पत्रकार कृष्ण विदुखी गौतम पुरस्कृत भएका छन् ।

वडा र नगर क्षेत्रका आयोजना तथा कार्यक्रमका गतिविधिहरुलाई पत्रपत्रिका, टेलिभिजन तथा अनलाईनको माध्यमबाट सत्य, तथ्य, निस्वार्थ एवं निष्पक्ष रुपमा प्रचार प्रशार गरी समग्र जिल्लाको विकास र समृद्धिमा सहयोग पु¥याएको भन्दै उनलाई वडाध्यक्ष लिम्बुले नगद पाँच हजार रुपैयाँसहित पुरस्कृत गरेका हुन् ।

पत्रकार गौतमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना, जिल्ला नरेश ढुंगाना र वडाध्यक्ष लिम्बुले संयुक्तरुपमा पुरस्कार प्रदान गरे । पत्रकार गौतम नवविहानी साप्ताहिकका सम्पादक हुन् भने जिल्लाबाट विभिन्न राष्ट्रिय तथा क्षेत्रीय सञ्चारमाध्यममा आवद्ध छन् ।

लकडाउनका बेला राहत वितरण गर्दै जनप्रतिनिधि ।

 

लकडाउनका बेला राहत वितरण गर्दै जनप्रतिनिधि ।

 

लकडाउनका बेला राहत वितरण गर्दै जनप्रतिनिधि ।

तपाईको प्रतिक्रिया