काठमाडौं, १० मंसिर । आइतबार पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा स्थानीय तहमा खसेको भन्दा कम मत खसेको छ । स्थानीय तहको चुनावमा झण्डै ७५ प्रतिशत मत खसेपनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो चरणमा ६५ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो स्थानीय तहको भन्दा झण्डै दश प्रतिशत मत हो ।
निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत भोट खसकेको छ भने सबैभन्दा दोलखामा ५५ प्रतिशत मत खसेको छ । स्थानीय चुनावमा भन्दा मतदाता थपिए पनि संख्याका हिसाबले पनि मतदान भने कम भएको हो । चिसो मौसम, विप्लव समूहको गतिविधि, दलहरुप्रतिको अविश्वासका कारण मतदानमा सहभागिता कम भएको हो ।
स्थानीय चुनावमा आफ्ना गाउँटोलका छरछिमेकी, आफन्त र नातेदार नै उम्मेदवार हुँदा मतदातामा उत्साह थियो । तर प्रदेश र संघको चुनावमा टाढाका व्यक्ति उम्मेदवार हुँदा पनि मतदाताको संख्या कम भएको हो । मतदानमा सहभागी हुन पहिलेजस्तो नेता कार्यकर्ताले मतदातालाई कर पनि गरेनन् । काम विशेषले काठमाडौं र अरु शहरी भेगमा रहेका धेरै मतदाता गाउँ गएनन् । भोट दिन मन भएको भए काठमाडौंमा सार्वजनिक बिदा नभएपनि धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक लगायत जिल्लाका मतदाता गाउँ जान सक्थे ।
तर अस्ति भर्खरै भोट दिएको त हो, कति भोट दिने भनेर गाउँ जान मन नगर्ने मतदाता पनि भेटिए । भोट दिएर के नै पो हुन्छ र, नेताहरुले केही गर्ने होइनन् भनेर निराशा व्यक्त गर्नेहरु पनि कम छैनन् । दलहरुले अहिलेको चुनावको महत्वबारे मतदातालाई बेलैमा बुझाउन नसक्दा पनि भोट कम खसेको हो ।
अर्कोतर्फ आइतबार मतदान भएको क्षेत्र हिमाली तथा उच्च पहाडी भेग भएकाले पनि कम भोट खसकेको हुनसक्छ । चिसो सुरु भएलगत्तै धेरै बासिन्दा बेंसी झरिसकेका छन् । मतदानकै लागि भनेर फेरि गाउँ फर्कनेको संख्या निकै कम देखियो ।
त्यसो त एकसय वर्ष उमेर पार गरेका बृद्धबृद्धा पनि मतदानमा सहभागी भए । बमको त्रास र चिसोको बावजुद पनि मतदान केन्द्रमा दिनभर घुईंचो लाग्यो । स्थानीय चुनावमा भन्दा कम मतदान भएपनि २१ गते दोस्रो चरणमा हुने मतदानमा बढी भोट खस्ने अनुमान गर्न सकिन्छ । किनकी बाँकी क्षेत्र भौगोलिक हिसाबले सुगम छ । र पहिलो चरणमा देखिएको मतदाताको निराशालाई बुझेर दलहरुले जाँगर बढाउँछन् भन्ने आशा गर्न सकिन्छ ।
आयोग खुशी
पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि ३२ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएपछि निर्वाचन आयोगले खुशी व्यक्त गरेको छ । हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएपछि बेलुका आयोग कार्यलय कान्तिपथमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गर्नुभएको हो ।
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४ सय ६५ मतदान केन्द्रमा मतदान भएको हो । आइतबार भएको मतदानबाट प्रतिनिधिसभा लागि ३७ जना र प्रदेशका लागि ७४ जना निर्वाचित हुनेछन् । दुवै तहमा गरी पहिलो चरणमा सात सय २ जना उम्मेदवार छन् ।