रसुवा, १० मंसिर । आईतबार भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन रसुवामा साढे सात बजेसम्म संचालन भएको छ । चिसो मौसमका कारण मतदान ढिलो सुरु भएको र मतदाता सङ्ख्या धेरै रहेको स्थानमा मतदान भैरहेको हो । बिहान ७ बजेदेखि अपरान्ह् पाँच बजेसम्म संचालन गर्ने बताएपनि मतदान गर्नका लागि मतदाताहरु लाईनमा बसेकाले साझँ साढे सात बजेसम्म संचालन भएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताउनुभयो ।
चिसोका कारण बिहान करिब दुई घण्टा मतदाताको पातलो उपस्थिति रहँदा मतदान प्रक्रिया लम्बिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा ढिलोगरी उत्तरगया गाउँपालिका–३ ठुलोगाउँस्थित भूमेदेवी मावि मतदान केन्द्रमा बेलुकी साढे ७ बजे मतदान सकिएसँगै जिल्लामा मतदान प्रक्रिया सम्पन्न भएको हो । रसुवामा आईतबार भएको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जनाइएको छ ।
मतदान सकिएसँगै प्रत्येक मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरेर सदरमुकाम ल्याउन सुरु गरिएको छ । सदरमुकामबाट नजिक रहेका स्थानबाट मतपेटिका संकलन गरी सदरमुकाम ल्याउन थालिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो । निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गरेका छौँ, र लाङटाङ बाहेकका स्थानमा रहेका मतदानस्थल तथा केन्द्रबाट बिशेष सुरक्षाका साथ मतपेटिका सदरमुकाम सम्म ल्याउने क्रम सुरु भईसकेको छ, राति १२ बजे सम्ममा ल्याईसक्ने गरि तयारी गरेका छौँ ।
तिन घण्टाको पैदल यात्रामा मतपेटीका बोकि, सवारी साधन मार्फत ढुवानी गरि ल्याउनुपर्ने अवस्था रहेको प्रमममुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । ३२ हजार तीन सय २३ मतदाता रहेको रसुवामा २६ हजार एक सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताउनुभयाे । जसको करिब ८१ प्रतिशत हुने बताइएको छ । ढिलागरि मतदान प्रक्रिया संचालन भएको हुदाँँ मतपेटीका आएसँगै एकिन तथ्याङ्क आउने बताइएको छ ।