भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक निगुःपुखुः अर्थात् दुईपोखरीको पुनर्निर्माण गरेको छ । संरक्षण अभावमा वर्षौंदेखि खेल मैदानको रुपमा परिणत भएका पोखरी ब्युँताएर नगरपालिकाले पानीमात्रै भरेनँ, आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ध्येय समेत अघि सारेको छ । वडा नं. ४ मा सँगै दुई वटा पोखरी भएकाले पोखरीको नामनै दुईपोखरी अर्थात् निगुःपुखः र टोलको नामसमेत दुईपोखरी राखिएको छ ।

तर, पोखरीमा पानी नहुँदा त्यस टोलकै अस्तित्व मेटिएको भन्दै नगरपालिकाले ऐतिहासिक दुईपोखरीको पुनर्निर्माण थालेको हो । अहिले दुईमध्ये एउटा पोखरीको पुनर्निर्माण सकिएको छ भने अर्कोको थालनी भएको छ । पुनर्निर्माण पूरा भएको पोखरीको शनिबार भव्य सांस्कृतिक उत्सवसहित मेयर मदनसुन्दर श्रेष्ठले उद्घाटन गरेका छन् ।

पहिलो चरणमा सानो पोखरी पुनर्निर्माण गरी नगरपालिकाले शनिबार  सांस्कृतिक मौलिक बाजागाजा सहित उद्घाटन गरेको हो । नगरपालिकाले उपभोक्ता समिति मार्फत चारैतिर इँटाको पर्खाल लगाई, कालीमाटी बिछ्याएर, इँटा छापेर पानी भरेको छ । सुरूमा ६ इञ्च कालीमाटी, ३ इञ्च पाङ्गो माटो र पुनः ६ इञ्च कालीमाटी गरी १५ इञ्च माटो बिछ्याएपछि इँटा सोलिङ्ग गरेर पानी टिकाउने कार्य गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । सानो पोखरी संरक्षण तथा पुनर्निर्माण गर्न नगरपालिकाले करीब डेढ करोड रुपैयाँ खर्च गरेको छ ।

दुईपोखरी अन्तर्गत ठूलो पोखरी संरक्षण तथा पुनर्निर्माणको कार्य समेत थालनी भएको छ । सो पोखरी संरक्षण तथा पुनर्निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ मा एक करोड २५ लाख रुपैयाँ र बागमती प्रदेशले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पोखरी संरक्षणका गर्न स्थानीय निरन्जन श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति सक्रिय छ ।

आकाशे पानी संकलन गरेर प्रशोधन गरेपछि मध्यपुरथिमि–४ स्थित ऐतिहासिक दुई पोखरीमा पानी भर्ने प्रस्ताव अनुरुप पुनर्निर्माण भएको हो । मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव भैरव मन्दिरसम्मको पानी संकलन गर्ने र संकलित पानी दुई स्थानमा प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने नगरपालिकाले जनाएको छ ।

तीन वर्षमा दुबै पोखरी पुनर्निर्माण सक्ने गरी पैदलमार्ग निर्माण, ८ वटा फल्चा (पाटी) निर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रको रुपमा दुई पोखरी क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले बताए । हाल पोखरी वरिपरी ६ वटा फल्चा अवस्थित छ । करीब ३ सय वर्ष पहिले गंगा महारानीले दुईपोखरी स्थापना गरी मध्यपुर थिमिबासीलाई पानीको स्रोत दिएको भन्ने कथन छ । कुनै भवितव्य होस् अथवा सिँचाइ, जुनसुकै प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने चलन थियो । बढ्दो सहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा ध्यान जान छाडेको संस्कृतिविद्हरू बताउँछन् ।

दुईपोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र सहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीचबाटोमै टुटेपछि पोखरीमा पानी सुकेको हो ।

२०१५ सालमा राजा महेन्द्र भक्तपुर आउँदा दुईपोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेदेखि नै पोखरीको पानी सुक्न थालेको स्थानीय उत्तरकुमार श्रेष्ठ बताउँछन् । बेलाबेलामा पोखरी संरक्षण गर्ने प्रयास गरे पनि पोखरीको संरक्षण हुन सकेको छैन ।

पुननिर्माण हुनुअघिको निगुपुखु ।

गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि पोखरीमा मैदानमा परिणत भएको स्थानीय बताउँछन् । ०६५ मा नगरपालिकाले १० लाखको लगानीमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेको थिएन । जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व थालेपछि मध्यपुर थिमि नगरको ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाहरु मौलिकशैली मै ठडिन थालेको छ ।

नगरपालिकाले दुईपोखरी क्षेत्रलाई सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने र नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शन स्थल निर्माण गर्ने लक्ष्य लिएको मध्यपुर थिमि–४ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । इनायटोलदेखि दिगुभैरव मन्दिरसम्म पैदल मार्ग निर्माण गरी ठूला सवारी निषेध गर्ने समेत उनले बताए ।

स्थानीय बासिन्दाले भने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिरहेको अवस्थामा कुनै सावधानी बिना सर्यौं नागरिक उपस्थित गराई पोखरी उद्घाटन गरेकोमा गुनासो गरेका छन् ।

तस्विर : मेयर श्रेष्ठको फेसबुकबाट

तपाईको प्रतिक्रिया