काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिकाले किसानलाई व्यवसायिक खेतीमा प्रोत्साहन गर्न कृषक परिचय पत्र वितरण गर्ने भएको छ । नगरपालिकाले विभिन्न पेशामा संलग्न भएर पनि कृषि पेशा गरिरहेका, व्यवसायिक कृषि पेशा गरिरहेका र निर्वाहमुखी कृषि गरिरहेकाहरुलाई वर्गीकृत गरी परिचय पत्र दिने नीति लिएको छ ।

नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले आगामी आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रममा किसानलाई परिचय पत्र वितरण गर्ने कार्यक्रम अघि सारेका हुन् । ‘किसानलाई परिचय पत्रको आधारमा कृषक प्रोत्साहन कार्यक्रम संचालन गरिनेछ । यस्तो प्रोत्साहन कार्यक्रममा मल, बीऊ, कीटनाशक औषधी, प्लाष्टिक पोखरी, टनेल, कृषि तथा पशु सेवा विज्ञको परामर्श सेवा, अवलोकन भ्रमण लगायत नगर कार्यपालिकाले तोकेका कार्यहरु गरिनेछन्,’ मेयर माबुहाङले भनेका छन् ।

नगरपालिकाले कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय बाट संचालित फलफुल दशक २०७५–२०८४ लाई अंगाल्दै फलफुल खेती विस्तारका लागि अनुदानमा बर्षे फलफुल (लिचि÷आँप), हिउदे फलफूल (किवि)को विरुवा वितरण गर्ने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषितर्फ उन्मुख गर्दै व्यवसायिक कृषिलाई बजारमा प्रतिस्पर्धी बनाउन एवम् बिषादी रहीत (अर्गानिक) र गुणस्तरीय उत्पादन गर्नका लागि कृषि क्षेत्रका सबै सरोकारवालाहरु (उत्पादक, प्रशोधनकर्ता, व्यापारी) समेतको माग र आवस्यकतालाई आधार मानि उपलब्ध स्रोतको उच्चतम र न्यायोचित वितरण गर्ने, ब्यवसायिक तरकारी खेती तथा उन्नत जातको फलफूल खेती गर्न कृषकहरुलाई उत्प्रेरणा स्वरुप मल, बीउ किटनासक औषधी तथा विरुवा खरिदमा कृषक परिचयपत्र अनुसार अनुदान दिने तथा साझेदारी गर्ने नीति अवलम्वन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, नगरपालिकाले सार्वजनिक ऐलानी पर्ति जग्गा वा उपयुक्त जग्गा भाडामा लिएर सुन्तला, कागती, एभोकार्डाे लगायतका बिरुवाहरुको नर्सरी तयार गरी लागत मूल्यमा कृषकहरुलाई उपलव्ध गराउने भएको छ । वडास्तर तथा नगरस्तरमा फलफूल, तरकारी खाद्यान्नवाली र पशुपन्छी प्रदर्शनी सञ्चालन गरी कृषकहरुलाई परस्पर प्रतिस्पर्धी वनाउन आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने नगरको नीति छ ।

यस्तै, नगरपालिका क्षेत्र भित्रका वजार केन्द्रहरुमा कृषि उत्पादन संकलन केन्द्र निर्माण गर्ने, चिस्यान केन्द्र निर्माण गर्ने र त्यसपछि नगर क्षेत्रमा उत्पादित तरकारी तथा फलफूलजन्य कृषि उपजले बजारमा भाउ नभएको समयमा बिचौलियाले निर्धारण गरेको मूल्यमा विक्री गर्नु पर्ने वाध्यताको अन्त्य हुने अपेक्षा रहेको मेयर माबुहाङले बताए ।
नगरपालिकाले कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर बनाउन साना किसान लक्षित कुखुरा पालन कार्यक्रमलाई निरन्तरता दिएको छ ।

वाख्रा र बंगुरपालन पेशालाई व्यवसायीकरण गर्न उन्नत जातको वीउवोका, विर खरिद गरि नश्ल सुधारको कार्यक्रम सञ्चालन गर्ने तथा हिउदे वर्षे घाँसको सहज उपलब्धतालाई ध्यानमा राखि कृषि तथा पशुसेवा इकाई, कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमार्फत उन्नत जातको घाँसरोपण कार्यका लागि अभिप्रेरित गर्न कार्यक्रम सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिएको छ ।

नगर क्षेत्रमा सबै वडामा माटो परीक्षण गरी विज्ञको सिफारिस वमोजिम माटो उपचार तथा माटो सुहाउँदो क्षेत्रमा परम्परागत खाद्यबालीहरु फापर, जुनेलो, बदाम, तील, रुद्राक्ष, किवी ,कागती, सुन्तला, एभोकार्डाे ड्रागन फुडलगायतको खेती गर्न प्रोत्साहित गर्ने नीति नगरपालिकाले लिएको छ । नगरपालिकाले पशु बीमा र बाली बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउने र किसानको लगानी सुरक्षित गर्नेतर्फ केन्द्रित हुन प्रोत्साहित गर्ने भएको छ ।

नगरपालिका क्षेत्रभित्र जग्गा बाँझो राख्न नदिने र बाझो जग्गालाई आवाद गर्नेलाई नगरपालिकाले मल बीऊ सिंचाई लगायतका विषयमा आवश्यक कार्यविधि बनाई अनुदान दिने भएको छ ।

यस्तै, साना किसान, महिलाद्वारा सञ्चालित कृषि समूह सहकारी, लक्षित वर्ग, क्षेत्र र समुदायका परिचय पत्र प्राप्त कृषकहरुलाई आत्मनिर्भर बनाउन तथा रोजगारीको सिर्जना गर्नकालागि तरकारीका उन्नत जातका बीउविजन मल, कीटनासक औषधी सहीतको विशेषज्ञको सेवा, सिँचाईको सुविधा उपलव्ध गराउने नीति अघि सारेको छ ।

तपाईको प्रतिक्रिया