काठमाडौं । दैलेखका छ वटा सामुदायिक विद्यालयले कम्प्युटरको प्रयोगात्मक कक्षा सञ्चालन गर्ने भएका छन् । विद्यालय शिक्षालाई सूचना प्रविधिमैत्री बनाउदै दुर्गमका गाउँमा सञ्चालित यी विद्यालयहरुले कम्प्युटर कक्षा सन्चालन गर्ने भएका हुन् । विद्यालयहरुमा कम्प्युटर शिक्षा सञ्चालन गर्नकालागि सांसद पार्वती विसुन्केले सूचना प्रविधि प्रयोगशाला (आई.सी.टी.ल्याब) स्थापनाकालागि आवश्यक सामाग्रीहरु उपलब्ध गराएकी छिन् ।

सांसद विसुन्केले नयाँ बजारको त्रिभुवन मावि, डुङ्गेश्वर गाउँपािलकाको सीता जनसहयोग मावि, भगवतीमाई गाउँपालिकाको भैरव मावि, गुराँस गाउँपालिकाको शान्ति मावि, नौमुले गाउँपालिकाको शिवशक्ति मावि र महाबुको भगवती माविलाई सूचना प्रविधिमैत्री सिकाईकालागि कम्प्युटरलगायत सूचना प्रविधिका सामाग्री पठाएकी हुन् । ती विद्यालयले अब सीसीटिभी र वाईफाईसहितको कम्प्युटर ल्याब स्थापना गरी कम्प्युटर कक्षा सञ्चालन गर्ने भएका हुन् ।

हरेक विद्यालयले २४ वटा कम्प्युटर सेट प्राप्त गरेका छन् ।

साथै, एक थान प्रोटेक्टर, एक थान प्रिन्टर, चार थान सिसिटिभी क्यामेरा, एक थान सिसिटिभी मोनीटर, एक थान नेटवर्क भिडियो रेकर्डर, एक थान स्विच ¥याक, एक थान राउटर लगायतका आइटी सम्बन्धी आवश्यक पर्ने १५ प्रकारका उपकरणहरु विद्यालयलाई उपलब्ध गराइएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग समन्वय गरी विद्यालयहरुलाई सूचना प्रविधि प्रयोगशालाकालागि उपकरणहरु उपलब्ध गराएको सांसद विसुन्केले जानकारी दिइन् । ‘दुर्गमका बालबालिकाले आधुनिक प्रविधियुक्त शिक्षा पाउन सकेका छैनन्, त्यसकालागि थोरै भएपनि सहयोग पुगोस् भनेर मैले पहल गरेकी हुँ्,’ सांसद विसुन्केले भनिन् ।

०४३ सालमा आमा जसुदा र बुवा कविराम विसुन्केको जेठो सन्तानको रुपमा जन्मिएकी थिइन् पार्वती । दैलेखको नारायणगढ नगरपालिका निवासी विसुन्के तत्कालिन नेकपा एमालेबाट प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । अर्को रोचक तथ्य त के छ भने उनी प्रतिनिधि सभाकै कान्छी सांसद हुन् ।

तपाईको प्रतिक्रिया