काठमाडौं, मंसिर १०– प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तीन वटा मतपत्र हुनेछन् । तर चार ठाउँमा मतदान गर्नु पर्नेछ । प्रत्येक मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नु पर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिले हरियो रङ्गको मत पत्र दिइने छ । यसमा प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवारलाई मतदान गर्नुपर्छ ।
आफूले रोजेको उम्मेदवारको चुनाव चिन्हमा मत दिएपछि मत पेटिकामा खसाल्नुपर्छ । प्रतिनिधिसभाको मतपत्र जिल्ला अनुसार फरकफरक हुनेछ । जिल्लामा रहेका उम्मेदवारको मात्रै चुनाव चिन्ह हुन्छ ।
हरियो रङ्गको मतपत्र मतपेटिकामा खसालीसकेपछि कालो रङ्गको मतपत्र दिइने छ । यो मतपत्र प्रदेशसभाका उम्मेदवारलाई भोट हाल्न हो । यसमा पनि जिल्लामा रहेका उम्मेदवारको मात्रै चुनाव चिन्ह हुन्छ । यसमा भोट हालेर छुट्टै मतपेटिकामा खसालेपछि रातो रङ्गको मतपत्र दिइने छ । यसमा भने दुई ठाउँमा मतदान गर्नुपर्छ ।
यो प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतदानका लागि हो । मतमत्रको माथिल्लो भागमा प्रतिनिधिसभा तर्फको चुनाव चिन्ह हुनेछ । यसमा ८८ वटा चुनाव चिन्ह हुन्छ र यो देशैभर एकैखालको हुन्छ । तर मतपेटिकाको तल्लो भागमा भने प्रदेश अनुसार फरकफरक हुन्छ ।
मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभा तर्फको समानुपातिकका लागि आफूले चाहेको दलको एक चिन्हमा र त्यसको तल्लो भागमा प्रदेशसभाका लागि आफूले चाहेको दलको चिन्हमा मतदान गर्नुपर्छ ।
यो मतपत्रको तल्लो भागमा प्रदेश नम्बर १ मा ८७, प्रदेश नम्बर २ मा ८६, प्रदेश नम्बर ४ मा ८८, प्रदेश नम्बर ४ मा ८२, प्रदेश नम्बर ५ मा ८४, प्रदेश नम्बर ६ मा ८२ र प्रदेश नम्बर ७ मा ८३ वटा दलका चिन्ह भएको मतपत्र हुनेछ ।