भक्तपुर । भक्तपुरमा रहेको नेपालकै अग्लो पाँच तले मन्दिर जीर्णोद्धारमा स्थानीयबासीले श्रमदान सहयोग गरेका छन् । विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेको प्रसिद्ध ऐतिहासिक ङातापोल अर्थात् पाँच तले मन्दिरमा सोमबार ३ सय भन्दा बढीले जनश्रमदान गरेका छन् । श्रमदान कार्यको मेयर सुनिल प्रजापतिले निरीक्षण गरेका छन् ।

ङातापोल मन्दिर जीर्णोद्धार कार्य अन्तिम चरणमा पुगेकोले जनश्रमदान गर्न आउनेको भीड बढेकोे मन्दिर उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले बताए । नेपालकै अग्लो र संसारमै परिचित मन्दिरको जीर्णोद्धारमा आफ्नो सहभागी हुने हुँदा सबै जना उत्साहित देखिन्थे । जनश्रमदानमा अधिकांश महिला दिदीबहिनीहरुको सहभागिता रहेको छ ।

भक्तपुर नगरपालिकाको ६५ लाख १३ हजारको लागत इष्टमेटमा ङातापोल मन्दिरको जीर्णोद्धार कार्य सुरु गरिएको थियो । मन्दिरको जीर्णोद्धार यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना भक्तपुर नगरपालिकाको रहेको छ ।

 

तपाईको प्रतिक्रिया