एजेन्सी इस्लामाबाद, ९ मंसिर ।

 

सइद सन् २००८ मा भएको मुम्बई हमलाका योजनाकार भएको भारतले आरोप लगाउँदै आएको छ –

पाकिस्तानका एक विवादास्पद मुस्लिम धर्मगुरु अदालतको आदेशपछि नजबरन्दबाट मुक्त भएका छन् । मुस्लिम नेता हाफिज सइद अदालतको आदेशपछि नजरबन्दबाट मुक्त भएका हुन् । अमेरिकाले उनलाई पक्राउ गर्नेलाई एक करोड डलर इनाम दिने घोषणा गरेको थियो । अमेरिका र भारतले सन् २००८ मा मुम्बई सहरमा भएका शृंखलाबद्ध आक्रमणको योजना बुनेको आरोप सइदमाथि लगाउँदै आएका छन् । मुम्बई हमलामा एक सय ६० जनाभन्दा बढीको मृत्यु भएको थियो । सइदले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् । उनी गत जनवरीदेखि घरमै नजरबन्दमा थिए ।

सार्वजनिक सुरक्षाका लागि जोखिममा छैनन्
सइद सार्वजनिक सुरक्षाका लागि जोखिममा रहेको भन्ने सरकारको तर्कलाई अस्वीकार गर्दै अदालतले उनलाई रिहाइ गर्न आदेश दिएको हो । अदालतको आदेशबमोजिम बिहीबार साँझ उत्तरपूर्वी पाकिस्तानको लाहोरबाट उनी रिहा भएका थिए । ‘भारतले आतंकवादको आरोप लगाएको छ । तर, भारतका सम्पूर्ण प्रचारबाजी गलत भएको अदालतको फैसलाले पुष्टि गरेको छ,’ रिहा भएपछि उनले भने ।

विवादास्पद नेता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएपछि गत जनवरीमा पाकिस्तान सरकारले सइदलाई घरमै नजरबन्दमा राखेको थियो । सइदले सन् १९९० को दशकमा पाकिस्तानमा लस्कर–ए–तोइबा नामक लडाकु संगठन खोलेका थिए । तर, सरकारले सो संगठनमाथि प्रतिबन्ध लगाएपछि त्यसलाई पुनर्गठन गर्दै उनले सन् २००२ मा पुरानो संगठन जमात–उद–दावा (जेयुडी) ब्युँताएका थिए । सइदले जेयुडीलाई मुस्लिम कल्याणकारी संगठन बताए पनि अमेरिका र भारतले यसलाई लस्कर–ए–तोइबाको शाखा बताउँदै आएका छन् । उनी बारम्बार विवादमा तानिँदै आएका थिए ।

‘मुम्बई हमलामा सम्बन्ध छैन’
सन् २०१४ को एक दुर्लभ अन्तर्वार्तामा सइदले मुम्बई हमलासँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका थिए । भारतीय प्रचारबाजीलाई पुष्टि गर्न उनले चुनौती दिएका थिए । ‘पाकिस्तानीले मलाई राम्रोसँग चिन्छन् र उनीहरूले औधी माया गर्छन् । मेरो भूमिका प्रस्ट छ र भगवान्ले मलाई रक्षा गरिरहेका छन् । तर, भारतीयले मविरुद्ध झुटो प्रचार गरिरहेका छन्,’ उनले भनेका थिए । आफ्नो संगठनका कुनै पनि व्यक्ति अतिवादी गतिविधिमा संलग्न नरहेको उनले दाबी गरेका थिए।

पक्राउ पर्दै छुट्दै
सइदले भारतीय सीमामा दर्जनौँ अतिवादी हमला गरेको भारतले आरोप लगाउँदै आएको छ । उनलाई मुद्दा चलाउन विश्वासिलो प्रमाण नभेटिएको पाकिस्तान सरकारले बताउँदै आएको छ । सन् २००१ मा भारतको संसद्मा भएको हमलामा लस्कर–ए–तोइबाका लडाकु संलग्न रहेको आरोप लागेपछि उनी तीन महिना थुनामा परेका थिए । उनका कारण अन्य देशहरूसँगको सम्बन्धमा असर पुगेको आरोप लगाउँदै सन् २००६ को अगस्टमा पाकिस्तान सरकारले उनलाई पक्राउ गरेको थियो । तर, केही महिनापछि उनी रिहा भएका थिए । मुम्बई हमलापछि उनी सन् २००८ मा घरमै नजरबन्दमा रहेका थिए । मुम्बई हमला गर्ने षड्यन्त्र आफ्नै भूमिमा भएको र लस्कर–ए–तोइबाका लडाकु संलग्न रहेको पाकिस्तान सरकारले जनाएको थियो । मुम्बई हमलामा संलग्न रहेको आरोपमा पाकिस्तानमा एक दर्जन पक्राउ परेका छन् । तर, सइदविरुद्ध कुनै पनि आपराधिक मुद्दा लगाइएको छैन । पक्राउ परेको ६ महिनामा उनी रिहा भएका थिए ।

तपाईको प्रतिक्रिया