मोरङ । उत्तरी मोरङ सिंहदेवीमा अबस्थित जेफाले बिस्तारै नयाँ पर्यटकीय गन्तव्यका रुपमा बिकास हुँदै गएको छ । मोरङमै इलाम बिर्साउने चियाबगान र धनकुटाको भेडेटार बिर्साउने भ्यु टावर र मौसम भएकाले जेफालेमा आन्तरिक पर्यटनहरु भित्रिन थालेका छन् । समुन्द्री सतहबाट एक हजार नौ सय सत्तरी मिटर उचाईमा रहेको जेफाले डाडा मोरङ र धनकुटाको सीमामा अबस्थित छ ।

पर्यटकीय विकासलाई थप व्यबस्थित र सुबिधाजनक बनाउन पछिल्लो समय पाँचवटा घरमा होमस्टेको सुरुवात र जेफाले डांडामा निर्माण गरिएको भ्यु टावरले पर्यटकहरुमा थप आकर्षण थपेको होमस्टेका सचिब भिम ठकुरीले बताए ।

 आकर्षणहरु
जेफाले डाडाबाट पुर्वका १६ वटै जिल्ला साथै सुर्योदय,सुर्यास्त विभिन्न हिमशृङ्खला देख्न सकिनुका साथै तराईका सुन्दर फांटहरुको दृश्यावलोकन गर्न सकिन्छ । चिया उधमी नारायणप्रसाद राईको चियाबगानले थप सौन्दर्यता थपेको छ । काफले डांडामा पाथीभरा मन्दिर,एतिहासिक किम्बदन्ती रहेको तीनचाने ढुङ्गा,जेफाले डाडामा शीबपार्वतीको मन्दिर र खदम र समेवा खोलामा निर्माण हुँदै गरेको मिनी हाईड्रो पावर रहेका छन् ।

त्यहाँ पुग्नका लागि महेन्द्र राजमार्गमा पर्ने खोर्साने देखि लगभग ३७ कि.मि. उत्तर पुर्व केही डांडा काट्दै जोखिमपूर्ण यात्रा गरेपछि ४ घन्टामा सिंहदेवीको जेफाले पुग्न सकिन्छ । कुल ७२ लाखको लागतमा निर्माण गरिएको ४५ फिट अग्लो चार तले भ्यु टावर १ हजार ९ सय ७० मिटर उचाईमा रहेको छ । जिबिस मोरङको ३६ लाख ५० हजार, धनकुटा जिविसको ५ लाख,पर्यटन कार्यालय काकरभिट्टाबाट २१ लाख र जनश्रमदानबाट भ्यु टावर निर्माण गरिएको अध्यक्ष डिल्लीराम शर्मा अधिकारीले बताए । एक कार्यक्रमका बीच तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले जेफाले भ्यु टावर र जेफाले होमस्टेको जेठमा एकै साथ उद्घाटन गरेका थिए ।

तराईको चर्को गर्मीमा समेत सदाबाहर चिसो भइरहने जेफालेको मौसमले आन्तरिक पर्यटकलाई लोभ्याएको छ । मोरङ भएर पनि भौगोलिक विकटताका कारण यात्रामा कठिनाइ भएपनी सडकको स्तरोन्नति,सन्चार र सुरक्षाको राम्रो व्यवस्था गर्नसके जेफाले पुर्वको मुख्री पर्यटकीय गन्तब्य बन्नेछ । – युवराज ठकुरी (विकिरण मासिकबाट )

तपाईको प्रतिक्रिया