तराईको मैदानबाट जम्माजम्मी १६ किमी माथि चढेपछि पुगिने भेडेटारमा उच्च हिमाली भेगको जस्तै हावापानी पाइन्छ । यस्तै अनौठो हावापानी भएको सुनेर हुनुपर्छ नेपाल भ्रमणमा आएका वेलायती राजकुमार चाल्स २०४० मा भेडेटारको भ्रमण गरे ।
पहिलो पटक विदेशी पर्यटक आएको हुनाले उनकै नामबाट यसको नाम ‘चाल्स प्वाइन्ट’ राखियो । चाल्स्र चढेको चुचुरोमा ३० फिट अग्लो टावर बनाइएको छ । अहिले यही टावर पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । टावरबाट धरान, धनकुटा, सप्तकोशीको फाँट चारकोसे झाडी, र तराईका मनमोहक फाट अवलोकन गर्न सकिन्छ ।
पछिल्लो समय पर्यटन ग्राम बनेको भेडेटारमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड भइरहन्छ । टावर चढ्नका लागि स्वादेशी तथा विदेशीलाई फरक मूल्य निर्धारण गरिएको छ । टावर अवलोकनबाट दैनिक सात हजारभन्दा बढी रकम संकलन हुने गरेको छ ।
भेडेटारबाट नजिकै रहेको पाथीभरा मन्दिर, सागुरी गढी, नमस्ते झर्ना, राजारानी नाम्चे बजार, यस्तै साँगुरीगढी, निशानदेवी, पाचकन्या, बुढासुब्बा, सेउतीमाई, तमोरमाईलगायत धार्मिक तथा पर्यटकीय स्थल यसको आकर्षण हो ।
यस्तै धनकुटाको नाम्जे गाउँ सिएनएनले गरेको सर्वेक्षणमा विश्वकै १२ औं उत्कृष्ट गन्तव्य मध्येको आठौं स्थानमा पर्न सफल ठाउँ हो । नाम्जेबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु हिमालको अवलोकन गर्न सकिन्छ । पछिल्लो समय भेडेटारबाट धरानसम्मको पाराग्लाईडिङले धेरै पर्यटकलाई तानेको छ ।