भक्तपुर । नेपाल संवत् ८२२ अर्थात् ३१८ वर्षअगाडि तत्कालीन मल्ल राजा भूपतिन्द्र मल्लले भक्तपुरको टौमढीमा निर्माण गरेको ङाँतापोल मन्दिरमा झन्डोत्तोलन (भूषादान) गरिएको छ । ऐतिहासिक एवं पुरातात्विक महत्वको ङाँतापोल अर्थात पाँचतले मन्दिरको जन्मोत्सव वर्षबन्धनको अवसरमा  सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झन्डा फहराएर झन्डोत्तोलन गरिएको हो ।

त्यसअवसरमा मन्दिरभित्र विशेष पूजाआजा गरिएको छ । साथै मन्दिरको टुप्पोमा लामो बाँंसमा झन्डा फहराइएको छ । मन्दिर स्थापनाको सम्झनामा प्रत्येकवर्ष अषाढ शुक्ल प्रतिपदाका दिन पूजाआजा गरी पाँचतले मन्दिरको माथिल्लो गजुरमा झन्डा फहराएर झन्डोत्तोलन गर्ने परम्परा छ ।

तत्कालीन मल्ल राजा भूपतिन्द्र मल्लले मन्दिर बनाइसकेको दिनको सम्झनामा यसरी नै प्रत्येकवर्ष अषाढ शुक्ल प्रतिपदाका दिन पूजाआजा गरी टुप्पोमा झन्डा फहराउने प्रचलन रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । यसदिन दिनभर जोशी, कर्माचार्य र ब्राह्मण पुजारीको टोली र जजमानको रूपमा सहभागी ताल्चाभडेलको टोलीले मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी मन्दिरमा विशेष पूजाआजा गर्ने गर्दछन् ।

२०७२ सालको महाभूकम्पले मन्दिरको माथिल्लो भागमा क्षति पुगेकोले भक्तपुर नगरपालिकाले जीर्णोद्धार गरिरहेको छ । जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ । १९९० सालको महाभूकम्पले भने यो मन्दिरको माथिल्लो एक तला भत्केको थियो ।

    

तपाईको प्रतिक्रिया