– भीम माबुहाङ,

पहाडकी रानी भनेर चिनिन्ने वसन्तपुर बजार, लालीगुराँस फुलको राजधानी तिनजुरे पहाडको काखमा अवस्थित छ । नागी डाँडा, सानो पार्टी पौवा, चित्रको गोठ, खरको र टिनको छानो हुँदै अहिलेको यो प्रारुपमा आईपुगेको हो यो बजार । सामुद्रिक सतहबाट २२८० मिटर उचाईमा रहेको यो बजार हावापानी र मौषमको हिसावले वसोवास गर्नको लागि अति उपयुक्त ठाउँ मध्यको एकमा पर्छ ।

विक्रम सम्वत् २०४६ साल तिरै नै यातायातको पहुँच पुगेको यो बजार पहाडी क्षेत्रका वजारहरु मध्ये एक सुगम वजारहरुमा पर्दछ । पुर्वको मुख्य शहर धरान बाट विचका ससना बजारहरु भेडेटार, धनकुटा, हिले, सिंधुवा हुँदै करिव तीन घण्टाको बस यात्रा पश्चात् यो बजार पुग्न सकिन्छ ।

चार वटा जील्लाहरु (तेह्रथुम, सँखुवासभा, ताप्लेजुंङ्ग र धनकुटा) संगम स्थलमा पर्ने हुनाले कहिले काँही यो वजारलाई पुर्वी क्षेत्रको मुल द्वावार भनेर पनि चिनिन्ने गरिन्छ । पर्यटकिय, व्यापारीक र भौगोलिक दृष्टिकोणको हिसावले यो ठाउँ बढो महत्वपूर्ण स्थानमा रहेको छ । पुर्वका हिमालहरु मकालु, कुम्भकर्ण र कञ्चनजंगा जाने पर्वतारोहीहरुको गन्तव्य तिर प्रस्थान गर्ने साथै, प्रसिद्ध धार्मिक स्थलहरु सभापोखरी, मनकामना र पाथीभरा मन्दिरहरुमा तिर्थयात्रीहरु दर्शन गर्न लम्कने मार्ग पनि यहि वजार हुँदै हो । त्यति मात्र नभएर पुर्व क्षेत्रको प्रख्यात ‘तिनजुरे मिल्के जलजले लालीगुराँस पदमार्ग’ पनि यहि वजारको आँगन बाट शुरु हुन्छ ।

‘कोशी करिडोर’ भनेर चिन्निने विराटनगर देखि किमाथांका (नेपाल चीन सिमाना) सम्मको बाटो साथै मध्य पहाड़ी राजमार्ग पाँच्थरको चियो भन्ज्याँङ्ग देखि लिएर पश्चिम बैतडीको झुलाघाट सम्मका राष्ट्रिय गौरव योजनाका सडक पनि यहि बजारमा ठोक्किएर जाने हुनाले यो बजारलाई पुर्वको सामरिक महत्व बोकेको बजारमा भन्न सकिन्छ । त्यसैले होला सरकारले पहिलो चोटी पहिचान गरेका दशवटा मध्य पहाड़ी शहरहरु मध्ये यो पनि एक ठाउँ हो । नेपाल सरकारको एक अंङ्ग शहरी विकाशले केही आधारभूत विकाशका स्तम्भहरु खड़ा गर्दै गरेको अवस्था छ ।

समग्रमा यो ठाउँको भौगोलिक बनावट, मानव अनुकुल हावा–पानी, प्राकृतिक सुन्दरता, मानव निर्मित सम्पदा अनि जैविक विविधता, रितिरिवाज र परम्पराहरुले पर्यटकहरुलाई निम्तो गर्ने मुख्य तत्वहरु हुन् । यी नै मिश्रित कुराहरुले यो बजारलाई एउटा सुन्दर तस्विरको स्वरुप दिएको छ । लकडाउन खुलेपछि तपाइ पनि घुम्नुहोला ।

ऋतुहरु परिवर्तन भएसंगै यो बजारको रुपरंगहरु फेरिन्छन् । परिवर्तनशिल रुप लाई अवलोकन गर्न घरदेशी देखि प्रदेशीहरु विभिन्न सिजनहरुमा उतिकै ओईरिहेका हुन्छन् । वसन्त ऋतुमा (फाल्गुन–वैशाख) तिनजुरे पहाडमा फूलेको गुराँशका फूलहरुको ज्योति ले यो वजारलाई अर्कै किसिमको रनक दिन्छ। त्यतिवेला गुराँशको फूलहरु अवलोकन गर्न आउने आन्तरिक तथा बार्ह पर्यटकहरुको घुईंचो थाम्न निकै हम्मे हुन्छ यहाँका होटल व्यवसायीहरुलाई । यो समयमा मौषम स्वछ हुने हुँदा टाढा टाढाका हिमश्रंखलाहरु लाईन लागेर हाँस्दै जिस्की रहेको हुन्छन । अनि अलिक पर क्षितिज माथी निर्मल निलो आकाशमा उडदै गरेका बादलका गुच्छाहरुले आउ म संग सेल्फि खिच भनेर निम्तो गरिरहेका हुन्छन् ।

कोरोनाको महामारी र लकडाउनका कारण यसवर्ष पर्यटकहरुको चहलपहल भएन । तर, वसन्तपुर लकडाउन खुल्नेदिन पर्खिएर बसिरहेको छ । शहरी कोलाहल र व्यस्त जीवनको तनावबाट राहत दिलाई मनको मयल पखाल्न साथै प्रदुशित हावाले भरिएका फोक्सो सफा गरि स्वछ हावा लिन तराई वा ठुला ठुला शहरहरु वाट आउने हरुको लस्कर पनि उतिकै हुन्छ । तिनजुरे शिखर र चामजिंग डाँडा बाट,सुर्योदय दृश्यावलोकन गर्दा आउने असिम आन्नदको वयान गरि नसक्नु छ। साँझपख सुर्यास्तमा हिमचुलीहरू, सुनौला गुन्युचोलीमा सिँगारिएका देख्दा लाग्छ यो भू–स्वर्ग यहि हो ।

हिउँद ऋतुमा (मंसिर (माघ) यो बजार सेतो घुम्टो ओढेर तन्नेरी हरु संग जिस्किन्दै वसे आभास हुन्छ । त्यति खेरी यो क्षेत्रमा हिउँको सेतो संसार सृजना हुन्छ । वैंसले विष्फोट हुन लागेका तरुना (तन्नेरिहरुको हुल हिउँमा लठारिन्दै हिंडिरहेका हुन्छन् । ग्रीष्म ऋतु वा वर्षयाम (आषाढ़–भदौ) भने यो बजार निकै रिसाएको वसेको जस्तो भान हु्न्छ। वर्षा र कालो बादलको कम्वल ओडेर गम्मक परेर अनुहार लुकाएर वसेको हुन्छे यी पहाडकी रानी। हिलो मैलो, सफासुघर पनि केहि नगरी लोग्नेसंग झोक्किएर बसेकि महिला जस्तै हुन्छे । रिसाएको अनुहार हेर्न पर्यटक नआउने भएकोले त्यति खेर यो बजारको चहलपल न्युन रहन्छ । खुल्ला मौषममा देखिने हिमश्रृंखला र पहाडहरु बादलभित्र हराएपछि सुन्य लाग्छ यो संसार । घामको उज्यालो नपर्दा उदासिलो र उराठ लाग्दो बन्न पुग्छ धर्तीको एक टुक्रा स्वर्ग पनि ।

यो बजारमा वहुजाती, वहुधार्मिक र वहुसंस्कृतिहरु अवलम्वन गर्ने मिश्रित मानिसहरुको बसोबासछ । धेरै जात जाती र धर्महरुमा आबद्ध रहेका मानिसहरु भएतापनी यो ठाउँ शान्त र सुन्दर छ। यहाँका वासिन्दाहरु बढो मैत्रिपुर्ण र सामाजिक छन् । खुल्ला हर्दय र सहयोगी भावनाले मुटु भरिएका शभ्य मानसिहरुको वसोवास छ यो बजारमा । चिसो मौषममा शरिरलाई तातो र न्यानो राख्न यो ठाउँको जैविक उत्पादन कोदोको तोंवा, तिनपाने स्थानिय रक्सि र राँगाको वा याक चौरीको सुकुटि अति प्रचलित खुराक हरु हुन् । अर्ज्ञानिकहरुको पनि राजा अर्ज्ञानिक सागसव्जी निंगुरो र सिस्नु संग लोकल कुखुराको झोलको साथमा राष्ट्र खाना ढिंडो स्थानिय मौलिक तरिका बाट तयार पारिएको भोजन खाँदा शरिरमा वेग्लै किसिमको तन्दुरुस्तपन सृजना हुन्छ ।

वजारका वरिपरी सुन्दर मन लोभ्याउने उद्यानहरु निर्माण गरिएका छन् । ती मध्ये यो ठाउँका स्थानिय वासिन्दा लिम्वु जातीहरुको परम्परामा र संस्कारमा आधारित निर्माण गरिएको ‘चोत्लुंग पार्क’ निकै पर्यटकहरु आकर्षण गरिरहेको अवस्था छ । यहि पार्कमा अवस्थित युमा संग्रहालय पनि अर्को शैक्षिक पर्यटनको निम्त्याउने केन्द्रको रुपमा विकाश हुँदैछ। वजारको पश्चिम दिशामा अवस्थित माकालु पार्क अनि त्यहाँ वनाईएको भिउ टावर बाट मकालु हिमाल संग आमुन्ने सामुन्ने भएर आँखा जुधाउँदा मन मस्तिष्क आनन्द ले भरिन्छ ।

समग्रमा यो ठाउँको भौगोलिक बनावट, मानव अनुकुल हावा–पानी, प्राकृतिक सुन्दरता, मानव निर्मित सम्पदा अनि जैविक विविधता, रितिरिवाज र परम्पराहरुले पर्यटकहरुलाई निम्तो गर्ने मुख्य तत्वहरु हुन् । यी नै मिश्रित कुराहरुले यो बजारलाई एउटा सुन्दर तस्विरको स्वरुप दिएको छ । लकडाउन खुलेपछि अवश्य घुम्नुहोला ।

– हाल संगापुर ।

तपाईको प्रतिक्रिया