– डा. मित्र परियार, 

जेठ १० गते, पश्चिम रूकुममा सिंगै मल्ल ठकुरी गाउँ उठेर नवराज विक र उनका ५ जना दलित तथा गैरदलित साथीलाई यातना दिई ‘मारेको’ घटनाले हाम्रो समग्र समाज, धर्म, संस्कृति र सभ्यताको बदनाम भएको छ। अन्तरजातीय मामिलामा घटित यो आततायी हिंसाले नेपालले आजसम्म हासिल गरेको राजनीतिक परिवर्तनको धज्जी उडाएको छ।

संविधान र कानुनमा जे लेखिएको भए पनि, सामाजिक संरचना र जात- व्यवस्था यथावतै रहेकाले दलितको जीवनमा अझै १९१० को मुलुकी ऐन लागू भएको प्रष्ट देखिन्छ।

अन्य छुवाछुत र जातीय हिंसामा जस्तै सत्ता र शक्तिको आडमा अपराध छोप्ने र अपराधी उम्काउने खेल चलिरहेको छ। पुनः न्यायको गला निमोठियोस् भनेर सम्पूर्ण राजनीतिकर्मी, पत्रकार, बुद्धिजीवि, सर्वसाधरण अग्रसर हुनु पर्ने देखिन्छ। नत्र भोलि जातीय द्वन्द्व कसैले रोक्न सक्ने छैन- जुन कसैको हितमा हुने छैन।

यो घटनाले दलित उत्पीडित समुदायलाई नराम्रोसँग झस्काएको देखिन्छ। उनीहरूको आत्मसम्मानमा घाउ लागेको छ। राजनीतिक विचार र आस्थामा पनि ठूलो चोट परेको स्थिति छ यस पटक। यसले दलित मुक्ति आन्दोलनमा मात्र होइन, देशको राजनीतिक ल्यान्डस्केपमा पनि दूरगामी प्रभाव पार्न सक्छ।

नेपाली दलित समुदायको ठूलो हिस्सा वामपन्थी आस्था राख्छ। हिजो माओवादी ‘जनयुद्ध’ हाँकेका बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड’हरूले कम्युनिष्ट सत्ताको लक्ष्य वा साम्यवादी सपना उहिल्यै त्यागिसके। तर अझै धेरै दलित कार्यकर्ताले तिनको प्रशिक्षण भुल्न सकेका छैनन् र वर्गसंघर्षले मात्रै जातीय मुक्ति सम्भव छ भन्ने विश्वास गर्छन्।

अझै पनि कम्युनिष्टहरूमा आफूलाई दलित वर्गको मसिहा ठान्ने चलन छ। युद्धमा तात्कालीन माओवादीको दावा थियो- ९० प्रतिशत भूभागमा जातीय विभेद र छुवाछुत हटिसक्यो।

उसले युद्धकालमा आफ्नो नियन्त्रण रहेका केही गाउँहरूमा सुधारका कदमहरू नचालेको पनि होइन।

तर युद्धको उद्गमस्थल पश्चिम रुकुममा आजसम्मकै ठूलो जातीय हिंसाले भने उल्टो सत्य उजागर गर्यो। जातीय विभेद र छुवाछुत सम्बन्धी वामपन्थी मिथकलाई झूट सावित गरिदियो। हिजोका जनसेना कमान्डर जनार्दन शर्मा स्वयं नै जातीय अहंकारी, अपराधी ठकुरीहरू बचाउने खेलमा लागेको स्थितिमा कतिपयले त्यो ‘जनयुद्ध’ नभएर ‘जनैयुद्ध’ पो रहेछ भन्ने निष्कर्ष पुगेका छन्।

अवश्य पनि मार्क्सवाद गतिलो समाजशास्त्रीय दर्शन हो। यसले दीन, दुखी, तल्लो वर्गप्रति राज्यको ध्यान आकृष्ट गर्छ। समाजवादको अनेक अर्थ लाग्न सक्छ। नेपाली कांग्रेसले पनि त्यही दर्शन अंगिकार गरेको छ। तर, मार्क्सले बताएअनुसार वर्गीय समानता वा साम्यवाद कतै आएन, सम्भव पनि छैन। लौ सम्भव भयो रे, भने पनि जातीय मुद्दामा ठूलो प्रभाव पर्दैन।

किनकि जातभात, छुवाछुत मूलतः हिन्दू धर्म, संस्कार, संस्कृति र अनुष्ठानमा अल्झिएको छ। हिन्दु शास्त्रमध्ये सबभन्दा जातिवादी मनुस्मृति हो। यही मनुस्मृतिका मूलभूत सिद्धान्त लिएर १९१० को मुलुकी ऐन लागू भयो। नेपाली समाजको संरचना त्यसरी नै निर्माण गरियो, जातीय धर्म सबैले मान्नु पर्ने भयो।

रुकुमका मल्लहरूले देशको नयाँ कानून र संविधान नबुझेका हैनन्। कैयौं अपराधी स्वयं माओवादी दर्शन सिकेका राजनेता हुन् भन्ने छ। उनीहरूले जातीय धर्म पालना गर्दै आफ्नी चेली एक ‘अछुत’ ले बिहे गर्नबाट रोकेका हुन्। त्यो हदसम्म अपराध नगरे पनि कथित ‘उपल्ला’ जातिका प्रायः कसैले पनि कामी वा अन्य ‘शूद्र’ जातिसँग बिहेवारी चलाउँदैनन्। अझ दलितै भित्र पनि चल्दैन। हिन्दु राजनीति र संस्कारका कारण नेपाली समाज प्याज जस्तो बनेको छः एक पत्र निकाले, त्यो मुनि अर्को पत्र निस्कन्छ।

भारतका प्रसिद्ध दलित लेखक तथा प्राज्ञ कान्चा इलायले भन्दै आएका छन्- मार्क्सवाद एकदमै धारिलो दर्शन हो। तर ब्राह्मणवादीको हातमा दक्षिण एसियामा यो भुत्ते बनेको छ।

नेपालका सबै दलको नेतृत्व उपल्ला भनिएका जातको पकडमा हुनाले राजनीतिक परिवर्तनका साथै जातीय संरचना र व्यवहारमा अपेक्षाकृत सुधार हुन नसकेको हो।

जातीय समस्या अन्य मुलुकमा पनि छन्। अमेरिकामा एकजना कालालाई स्वेत प्रहरीले थिचेर मारेको घटना पश्चात आन्दोलन चर्किएको छ। गोराहरूको उल्लेख्य उपस्थिति रहेको वर्णभेद विरोधी आन्दोलनको प्रभाव बेलायत र अष्ट्रेलियामा पनि पर्न थालेको छ। तर नेपालका अधिकांश ‘चोखा’ जाति रुकुमको झनै ठूलो घटनाप्रति चुप छन्। किनकि जे भयो धर्म, संस्कार र संस्कृतिको जगेर्नाका लागि भयो भन्ने धेरैको मनमा परेको हुन सक्छ।

सबै सचेत दलित तथा गैरदलित मिलेर जातीय उत्पीडन र छुवाछुतविरूद्ध आन्दोलित हुन आवश्यक छ। कम्युनिष्ट सपना हैन, लोकतान्त्रिक दर्शन लिएर शान्तिपूर्ण अभियान सञ्चालन गर्नु अपरिहार्य छ। नयाँ कानुन लागू गर्न राज्य र धार्मिक सत्ताका प्रमुखलाई दबाब दिनु पर्छ।

छुवाछुत मेटाउनु भनेको १३-१५ प्रतिशत दलितलाई न्याय दिनु मात्र होइन, हाम्रो धर्म, संस्कार र संस्कृति चोख्याउनु पनि हो। समग्र समाज सुधारका निम्ति पनि यो आवश्यक छ। किनकी एक खाले छुवाछुत स्वयं बाहुन-क्षत्रीबीच कायमै छ। अझै पनि बाहुनले क्षत्री बुहारी भित्र्याउन आनकानी गर्छ। घलेले अन्य गुरुङ जाति बिहे गर्दैनन्, गरे पनि बुहारीले चुलो छुन पाउँदिनन्। समग्रमा समाजमा जनजातिहरू त शूद्र नै मानिन्छन्।

धर्मको कुरा गर्दा केवल इसाई समुदायलाई दोष दिने चलन छ। धेरै दलित मात्र होइन तामाङ, मगर, राई, चेपाङ पनि चर्चतिर आकर्षित हुनुको एक प्रमुख कारण जातीय विभेद र छुवाछुत नै हो। अरू धर्ममा, संस्कारमा, अनुष्ठानमा छुत-अछुत हुँदैन। यो सत्य स्वीकारेर धर्मसंस्कार सुधार गर्दै लग्यौं भने मात्र सनातन धर्ममा पहिरो जाने क्रम रोकिन सक्छ।

विश्षतः दलित अभियन्ताले अब त बुझ्नु पर्यो कि ठूला भनिएका जातिले नियन्त्रण गरेका दलमा लागेर मात्रै मुक्ति सम्भव हुँदैन। हाम्रो आफ्नै नेतृत्वको सामाजिक अभियान आजको आवश्यकता हो। डा. अम्बेडकर, पेरियार, कासिराम, मायावती, आदिले भारतमा चलाएको जस्तो दलितको आफ्नो संघर्ष नेपालमा आजसम्म भएकै छैन। मुक्ति चाहिने भए सबै विचार र आस्थाका दलित जागरूक हुन पर्छ। संगठित बन्नु पर्छ। राजनीतिक व्यवस्था फेर्न होइन, प्राप्त अधिकार लागू गराउन।

त्यसका लागि लोकतन्त्र हुनै पर्छ। कथित साम्यवादले हल हुँदैन। कठोर कम्युनिजम लागू भएका चीन, उत्तर कोरिया, भेनेजुएला, क्युबा जस्ता देशमा राज्यका विरूद्ध चुइँक्क गर्न पाइन्न- कसरी दीनदुखीले न्याय पाउने? समाजवाद आयो भने सम्पूर्ण सम्पत्ति र अधिकार राज्यको हातमा आउँछ, तर हाम्रो राज्यमा कथित उपल्ला जातकै हालिमुहाली छ।

(डा. मित्र परियार किङ्सटन युनिभर्सिटी, लन्डनमा रिसर्च फेलो छन्।)

साभार – सेतोपाटीबाट ।

तपाईको प्रतिक्रिया