मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् । मेस्सीले गएको सिजन ला लिगामा ३७ गोल गरेका थिए ।
यो युरोपका प्रमुख लिगमा कुनै पनि खेलाडीले गएको वर्ष गरेको सर्वाधिक गोल हो । अवार्ड लिँदै मेस्सीले आफ्नो खेल कौशलमा निरन्तर सुधार ल्याउने प्रयासमा रहेको र फुटबलरको रुपमा रमाइरहेका बताएका छन् । यो अवार्ड जितेसँगै मेस्सीले क्रिष्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका छन् । मेस्सीले चौथो पटक सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन–सू अवार्ड जितेका हुन् । रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले चारपटक यो अवार्ड जितिसकेका छन् ।
यो सिजन मेस्सी लिगमा निकै फर्ममा देखिएका छन् । तर रोनाल्डो भने ला लिगामा यो सिजन गोलको हिसाब कमजोर छन् । अघिल्लो वर्ष सिजन यो अवार्ड लिगमा ४० गोल गरेका बार्सिलोनाका लुइस स्वारेजले जितेका थिए । मेस्सीले यो भन्दाअघि पछिल्लो पटक सन् २०१२÷१३ को सिजनमा लिगमा ४६ गोल गर्दै अवार्ड जितेका थिए । उनले २००९÷१० मा ३४ गोल र २०११÷१२ मा ला लिगामा कीर्तिमानी ५० गोल गर्दै अवार्ड जितेका थिए ।