बाम–गठबन्धनले झुक्याएको भन्दै कांग्रेस प्रवेश गर्नेको लहर
- गुराँस न्युज
प्रकाशित मिति: शनिबार, मंसिर ०९, २०७४
प्रकाशित समय: १६:५७:१३
२३७५
एकैदिन ५५ जना युवा कांग्रेस प्रवेश
तेह्रथुम, ९ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा तेह्रथुममा विभन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको छ । जिल्लाबाट प्रतिनिधि सभाकी प्रत्यक्ष उम्मेदवार तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङले शनिबार एकै दिन ५५ जना बढी बाम–गठबन्धनका नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत गर्नुभएको छ ।
आठराई गाउँपालिका–६ चुहानडाँडामा नेकपा माओवादी केन्द्र चुहानडाँडाका सचिव डब्लु कन्दङवा र वाइसिल नेपाल ईन्चार्ज सन्तोष रोका सहित ३५ जना बाम गठबन्धनका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यस्तै खाम्लालुङ र सक्रान्तिबजारका एमालेका सक्रिय कार्यकर्ताहरु मन्जिल चोङवाङ, टाँसी लामा र प्रेम घिमिरेसहित २० जना बढी युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै युवा नेतृ गुरुङले जिल्लैभरि जिल्लाको विकास र समृद्धिका निम्ति कांग्रेस प्रवेशको लहर नै चलेको बताउनुभयो । नेतृ गुरुङले आफुले युवा र महिलाको मुद्धालाई प्रतिनिधित्व गर्दै जिल्लाको शान्ति, समृद्धि र विकासको योजना बनाएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस तेह्रथुमका प्रदेश सभाका (ख) का उम्मेदवार विजय सम्बाहाम्फे, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भीष्म थपलिया लगायतका नेताहरुको उपस्थिति थियो । नेपाली काँग्रेसमा प्रवेश पछि कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका सचिव कन्दङवाले एमाले–माओवादी सहितको गठबन्धले युवाहरुलाई झुक्याउने मात्र काम गरेकाले युवाहरुको भविष्य लोकतन्त्रमा मात्र समृद्ध हुने भन्दै काँग्रेसमा प्रवेश गरेको बताउनुभयो ।
अर्का युवा नेता रोकाले लोकतन्त्रको जगमा मात्र युवाहरुको समस्याको समाधान र समृद्ध समाज निर्माण हुने भएकाले बाम–गठबन्धनको चिप्ला कुरामा विश्वास नगर्न युवाहरुलाई आग्रह गर्नुभयो । युवाहरुको एकताले मात्र हरेक पक्षको परिवर्तन गरी समाज विकास हुने बताउदै काँग्रेसमा प्रवेश गर्नेहरुको लहर नै चलेको नेपाली विद्यार्थी संघ जिल्ला सचिव कृष्णप्रसाद बास्कोटाले बताउनुभयो ।