‘राज्यमन्त्री भएपनि अाचारसंहिता लागेर काम गर्न पाइनँ ‘
गुराँस न्युज । तेह्रथुम, ८ मंसिर । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले मध्यपहाडी लोकमार्गको निर्माणसँगै जिल्लाको विकास र समृद्धिको ढोका खुलेको बताउनुभएको छ । लोकमार्गले जिल्लाको पुर्वी क्षेत्रदेखि पश्चिमी क्षेत्रसम्मलाई एकसाथ जोडेको र सो सडकसँगै विकास समृद्धि समेत सँगसँगै भित्रिएको उहाँले बताउनुभयो ।
अहिले लोकमार्गसँग जोडिएर जिल्लैभरि शाखा सडकहरु निर्माण भएसँगै जिल्लाबासीलाई सडकको भोक मेटिदै गएको उहाँको भनाइ छ । राज्यमन्त्री गुरुङले अब जिल्लामा निर्माण भइरहेका सडकको स्तरोन्नति र कालोपत्रेको काम अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । राज्यमन्त्री गुरुङले दक्षिण एसियाकै ह्यात्रुङ झरनाको पर्यटन प्रवद्र्धनका लागि सिमरादेखि इसिवु हुँदै ह्यात्रुङ झरना पर्यटन मार्ग निर्माणका लागि पहल गरेको बताउनुभयो ।
राज्यमन्त्री गुरुङले चालु आर्थिक वर्षभित्रै सम्पन्न हुनेगरी गुफा–श्रीजुङ–पौठाक–पोक्लाबाङ–सिमरा सडकको बहुवर्षे सडकको रुपमा डिपीआर गर्ने तयारी रहेको बताउनुभयो । उहाँले म्याङलुङ्ग–तमोर हुँदै राँके सडकको कालोपत्रेका लागि समेत डिपीआर भइसकेको बताउनुभयो । आफु राज्यमन्त्री हुँदा जिल्लाका लागि धेरै कामहरु गर्न इच्छुक भएपनि लगत्तै चुनाव आचारसंहिता लागेकाले काम गरेर देखाउन नपाएको बताउनुभयो ।
शुक्रबार खाम्लालुङमा भएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएकी युवा नेतृ गुरुङले जिल्लाको विकास निर्माणका लागि आफुले साढे दुई दशकदेखि गर्दै आएको योगदानको मुल्याकंन गरी मतदान गरेर अबका दिनमा समेत काम गर्ने अवसर दिन आम मतदातालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा (ख) निर्वाचन क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फेले लोकतन्त्रको रक्षा गर्दै नयाँ संविधानको कार्यान्वयन र आर्थिक समृद्धि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने बताउनुभयो ।
उहाँले विगतदेखि वर्तमानसम्म मुलुकमा भएका सबै परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको भन्दै अब पुनः जनताले आफ्नो जनजीविकाको रक्षा गर्न कांग्रेसलाई जिताउने बेला आएको बताउनुभयो ।
नेपाली कांग्रेसले शुक्रबार आठराई गाउँपालिकाको खाम्लालुङका दुई स्थानमा चुनावी सभा गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसको क्षेत्रीय चुनाव प्रचार प्रसार समितिका संयोजक केशव भेटुवाल, पुर्वजिल्ला सभापति भीमप्रसाद इस्बो लगायत नेता कार्यकर्ताहरुले मन्तव्य राख्नुभएको छ ।
सो अवसरमा बाम गठबन्धन छाडेर १० जना बढी नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । जिल्लामा अहिले नेपाली कांग्रेसको चुनाव प्रचार प्रसारले तिव्रता पाएको छ । कांग्रेस नेता कार्यकर्ताहरु जिल्लैभरि चुनाव प्रचार प्रसारमा खटिएका छन् । जिल्लामा कांग्रेस नेताहरु एक भएको र नेता कार्यकर्ता बीचको मनमुटाव टुंगिएकाले कांग्रेस जित नजिक पुगेको चर्चा हुन थालेको छ ।