भोजपुर, ८ मंसिर । भोजपुरमा निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । निर्वाचनविरोधी तथा उम्मेदवार लक्षित गतिविधि भएपछि मतदान समयको मुखैमा आएर उनीहरुले अनुमगन गरेका हुन् । बिहीबार क्षेत्रीय र शुक्रबार केन्द्रीयस्तरको टोलीले अनुगमन गरी आवश्यक निर्देशन दिएर फर्केको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनुभयो ।

नेपाली सेनाको हेलिकप्टरमा नेपाली सेना रथी पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी प्रमुखसिंह बहादुर श्रेष्ठ, नेपाल प्रहरी प्रमुख प्रकाश अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीले भोजपुरको अनुगमन गर्नुभएको हो । बुधबार क्षेत्रीयस्तरका सुरक्षा अधिकारीहरु जिल्ला दौडाहामा आइपुग्नुभएको थियो । बिहीबारको टोलीमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा पनि हुनुहुन्थ्यो । टोलीले प्रजिअ तथा जिल्लाका सुरक्षा निकाय प्रमुखहरुले निर्वाचनको लागि गरिएको सुरक्षा व्यवस्था तथा रणनीतिबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएको छ । निर्वाचनको समयमा सुरक्षा उच्च अधिकारी आउँदा आफूहरुको पनि मनोबल बढेको प्रजिअ दाहालले बताउनुभयो ।

यसअघि लोकतान्त्रिक गठबन्धनका तर्फबाट भोजपुर प्रदेश(२)का उम्मेदवार गोविन्द कार्कीको टक्सारमा रहेको घर नेकपाका कार्यकर्ताले कब्जामा लिएका थिए । केही समयपछि टेम्केमैयुङ गाउँपालिकामा आयोजित चुनावी सभामा जाँदै गरेको वाम गठबन्धनका प्रदेश (२) का उम्मेदवार शेरधन राई चढेको गाडीमा अज्ञात समूहले बम प्रहार गर्‍यो ।  चुनावीसभा पुगेर सदरमुकाम फर्कंदै गर्दा षडानन्द–८, भिरथाप्लामा राखिएको बम पड्किएर युवा संघ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केकैयुङ–७ कोट गाउँपार्टी सचिव ३३ वर्षीय विक्रम राई बम लागेर गम्भीर घाइते भएका थिए ।

उत्तरी साल्पासिलिछो गाउँपालिका–२, कुलुङमा वाम गठबन्धनको चुनावीसभा चल्दै गर्दा बम विस्फोट गराइयो । प्रदेशसभा १ का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दैगर्दा कार्यक्रमस्थलको एक सय मिटर नजिकै बम विस्फोट गराइएको थियो ।  सुरक्षा संवेदनशिल जिल्ला मानिए पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया