काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार बन्न दुई महिना लाग्ने बताउनुभएको छ । मंसिर १० र २१ गतेको निर्वाचन सकिएपछि मतगणना र समानुपातिकका प्रतिनिधि चयनमा लाग्ने समयका कारण सरकार बनाउन समय लाग्ने भएको हो । ‘दुवै चरणको निर्वाचनपछि पहिले प्रत्यक्षतर्फको मतगणना हुनेछ । त्यसपछि समानुपातिकको गणना हुनेछ,’ नेता खाँणले भन्नुभयाे ।

प्रतिनिधिसभा र राष्ट्रियसभासहितको संघीय संसद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत राखिएकाले सो अनुपात मिलाउन निर्वाचन आयोग र राजनीतिक दलहरूलाई लामो समय लाग्ने छ । निर्वाचन सकिएको झन्डै दुई महिनापछि मात्र नयाँ सरकार बन्न सक्छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिचालनको रथ हाँकिरहेका नेता खाँणले पार्टीभित्र र अन्य स्वतन्त्र निकायको सूचनाका आधारमा अहिलेसम्म नेपाली कांग्रेसको बहुमत आउने अवस्था रहेको र निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनका सहयोगी दलहरूको सरकार बन्ने पनि स्पष्ट पार्नुभयो ।

नेता खाँणले नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रहरूमा नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाइसकेको पनि बताउनुभएको छ । केन्द्रबाट गएका प्रतिनिधिहरूलाई जिल्लामा पार्टी र नेताहरूबीच समन्वय गर्ने, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको बीचमा सौहार्र्द सम्बन्ध बनाएर संयुक्त रूपमा परिचालन गर्ने, कार्यकर्ता परिचालन गर्ने, तालमेल भएका स्थानमा अन्य पार्टीका नेता र कार्यकता र उम्मेदवारहरूसँग समन्वय गर्ने जिम्मेवारी दिईएको नेता खाँड उल्लेख गर्नुभयो ।

नेता खाँणले निर्वाचन आयोगले पनि आफ्नो तयारी पूरा भएको जनाएको र गृह मन्त्रालयले पनि शान्ति सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा गरेको बुझिएकाले दुवै चरणको निर्वाचन निर्धारित समयमै हुने पनि स्पष्ट पार्नुभयो । नेता खाँणले केही दिन यता शृंखलाबद्ध रूपमा नेपाली कांग्रेसका शीर्ष तहका र अन्य दलका पनि नेताहरूलाई लक्षित गरी भएका आक्रमणको निन्दा गर्दै भयरहित वातावरण सिर्जना गर्न सरकारसँग आग्रह पनि गर्नुभयो । उहाँले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचनमा खटिएका कर्मचारीहरूको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै निर्वाचनमा खटिने सुरक्षाकर्मीसहित राष्ट्रसेवक कर्मचारीहरूको सुरक्षाको समुचित प्रबन्ध गर्न पनि सरकारसँग गर्नुभयो ।

तपाईको प्रतिक्रिया