काठमाडौं, ८ मंसिर । आइतवार पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा गएराती १२ बजेदेखि मौन अवधी सुरु भएको छ । दल,उम्मेदवार, कार्यकर्ता, मतदाता सञ्चारमाध्यम लगायत कुनै व्यक्ति या संस्थाहरुले गएराती १२ बजेदेखि चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्न पाउँदैनन् ।
मौन अवधी सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा २५ हजार रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाएको छ । मौन अवधीमा के के गर्नु हुँदैन भन्ने विषयमा अर्जुन पोख्रेलले आयोगका प्रवक्ता नवराज ढकालसँग कुराकानी गर्नुभएको छ ।
पहिलो चरणमा चुनाव हुने जिल्लामा मौन अवधी सुरु भैसकेको छ, अब मतदान नसकिएसम्म के के गर्न पाइँदैन ?
– यो समयमा चुनावी प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाइन्न । मतदातालाई कुनै पनि माध्यमबाट मत माग्न पाइन्न् । मत माग्ने उदेश्य राखेर अन्य क्रियाकलाप पनि गर्न पाइन्न । यस्तै एसएमएस, फेसबुक,ट्वीटर, भाइवर, इन्टाग्राम लगायतका सामाजिक सञ्जालबाट पनि भोट माग्न या दलको प्रचार प्रसार गर्न पाइन्न । मौन अवधी सुरु हुन भन्दा अघि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका सबै प्रचार सामग्री (तुल,व्यानर,झन्डा) आदि हटाउनुपर्छ । कुनै पनि दलको चुनाव चिन्ह अंकित टोपी, टिसर्ट लगायतका कपडा पनि लगाउन पाइदैन् ।
सञ्चारमाध्यमको हकमा के गर्न पाइन्छ, के गर्न पाइदैन ?
– मौन अवधी सुरु भैसकेपछि सञ्चारमाध्यमले कुनै पनि प्रचार प्रसारका सामग्री प्रकाशन प्रशारण गर्न पाइदैन । यस्तै कुनै दल या उम्मेदवारको प्रचार हुनेगरी सूचना या समाचार प्रवाह गर्न पाइदैन ।
यसपटक सञ्चारमाध्यमले विशेष ध्यान दिनुपर्छ । २ चरणमा चुनाव हुने भएकाले मिडिया थप चनाखो हुनुपर्नेछ । पहिलो चरणमा आउँदो आइतबार हुने चुनावको लागि चुनाव हुने ३२ जिल्लाका मिडियाले त चुनावी प्रचार र दल या उम्मेदवारका समाचार प्रकासन प्रशारण गर्न पाउनेछैनन् नै, ति जिल्लासम्म पहुँच पुगेका र राष्ट्रिय सञ्जाल भएका रेडियो, टिभी, पत्रपत्रीकाले पनि चुनावी गतिविधि गर्न पाउने छैनन् । त्यसैले काठमाडौं र अन्य जिल्लाबाट प्रकासन प्रशारण हुने राष्ट्रिय मिडियाले दोस्रो चरणमा हुने चुनावको लागि पनि राजनितिक क्रियाकलाप र चुनावी प्रचार समेटिएका सामग्री प्रकाशन प्रशारण गर्न पाउनेछैनन ।
कुनै पनि दल, उम्मेदवार, कार्यकर्ता या जोसुकैले मौन अवधीको पालना नगरेमा आयोगले के गर्छ ?
– हामीले अहिले कारबाहीको कुरा भन्दा पनि मौन अवधीको पालना हुन्छ भन्ने नै विश्वास लिएका छौं । अहिलेसम्म मौन अवधीको समयमा त्यस्ता ठुला घटना भएका छैनन् । यो पटक पनि पालना हुने अपेक्षा छ । यदी पालना नभए त हामीले कानुनमा उल्लेख भएको कारबाहीको सिफारिस गछौं नै ।
हुन त मतदाता नै अहिले धेरै चनाखो भएका छन् । यदि मौन अवधीको उल्लंघन भएको देखेमा मतदाताले तपाइँहरुलाई कसरी सहयोग गर्न सक्छन ?
– मौन अवधी या निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारप्रतिको धारण नै नकारात्मक हुन्छ । यदि सचेत मतदाता छन् भने मौन अवधी र आचार संहिता उल्लंघन गर्ने उम्मेदवारलाई त्यसै अनुसारको जवाफ दिन्छन् । यस्तै मतदाताले मौन अवधी र आचारसंहिता उल्लंघन भएको देखेमा निर्वाचन आयोगको केन्द्रीय कार्यालय, जिल्ला निर्वाचन कार्यालयहरु, मतदान अधिकृतका कार्यालयहरु, प्रमुख जिल्ला अधिकारीको कार्यालय र केन्द्र तथा जिल्लाबाट खटिएका अनुगमनकर्तालाई जानकारी दिनुभयो भने हामीले आवश्यक अनुसार कारबाही गछौं ।