काठमाडौँ । स्थानीय उत्पादनले माग धान्न नसक्दा यति ठूलो परिमाणमा चामल आयात भएको हो । नेपालीहरूको खानेबानीमा परिवर्तन आउन नसक्नु, कृषि पेशामा जनशक्ति नहुनु तथा प्रविधि र सिँचाइको अभावजस्ता कारणले चामल आयात वृद्धि भएको जानकारहरू बताउँछन् । विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा ५ अर्ब ३७ करोड ३७ लाख ४० हजार रुपैयाँको चामल आयात भएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब १७ करोड २३ लाख १० हजार रुपैयाँको आयात भएको थियो । गत वर्ष मुलुकमा धानको उत्पादन बढेको तथ्यांक रहे पनि चामल आयात भने कम हुन सकेको छैन । छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै चामल आयात हुने गरेको छ । चीन, थाइल्याण्ड र बंगलादेशबाट पनि चामल आयात हुने गर्दछ ।

तीन महिनामा ५ अर्ब ३७ करोड ३३ लाख रुपैयाँको चामल भारतबाट मात्र आयात भएको भन्सार विभागको तथ्यांक छ । खुला सिमानाको कारण अवैधरुपमा समेत चामल आयात हुने गर्छ । गत वर्ष मुलुकमा धानको उत्पादन २२ प्रतिशतले बढेर ५२ लाख ३० हजार मेट्रिक टन पुगेको सरकारी तथ्यांक छ । व्यापारविज्ञ पूर्वसचिव पुरुषोतम ओझा खेतियोग्य जमिन घट्दै जानु, काम गर्ने जनशक्ति अभावले मागअनुसार उत्पादन हुन नसक्नुजस्ता कारणले चामल आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । चामल आयात प्रतिस्थापनको लागि धान उत्पादनमा विशेष जोड दिनुपर्ने उनले बताए ।

कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्की पनि खानेबानीमा परिवर्तन नआउँदा चामल आयात बढ्ने गरेको बताउँछन् । मुलुकमा गत वर्ष खाद्यान्नको उत्पादन बढेपनि मसिनो चामल खाने प्रवृत्ति बढेकाले चामलको आयात धेरै हुने गरेको उनको भनाइ छ । मन्त्रालयका अनुसार ९ लाख ३१ हजार मेट्रिकले धानको उत्पादन बढेर ५२ लाख ३० हजार पुगेको थियो । स्थानीयस्तरमा उत्पादन बढे पनि आयात कम नहुँदा मुलुकमा परनिर्भरता बढ्दै गएको देखिन्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि अर्बांै रुपैयाँको खाद्यान्न आयात हुने गरेको बताए । खेतीयोग्य जमिन खडेरीमा प्रयोग हुनु, खेती गर्ने जनशक्तिको अभाव, खानेबानीमा परिवर्तन लगायतले गर्दा पनि चामलको आयात बढ्दै गएको कृषि विज्ञहरू बताउँछन ।
खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेन कृषिमा बजेटसमेत बढाउँदै आएको छ । विज्ञका अनुसार खेतीयोग्य जमिनहरू घडेरीमा परिणत भएकाले पनि उत्पादन हुन नसकेको हो । कृषि मन्त्रालयको तथ्यांकअनुसार मुलुकमा २७ लाख हेक्टर जमिनमा कृषि उत्पादन हुन्छ । १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती हुन्छ । तीमध्ये करिब ५९ देखि ६० हजार हेक्टर जमिन घडेरीका कारण क्षति भएको मन्त्रालयको अनुमान छ ।

साभार: कारोबार दैनिक

तपाईको प्रतिक्रिया