धनकुटा, ७ मंसिर । प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष चुनावमा कमल थापा अध्यक्ष रहेको राप्रपाले धनकुटामा वाम गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेको छ । बिहीबार धनकुटामा पत्रकार सम्मेलन गर्दै राप्रपाले उक्त घोषणा गरेको हो ।
प्रदेश नं. १ मा पार्टीका महासचिव राजेन्द्र लिङदेनलाई समर्थन गरेको वाम गठबन्धनको पैचो तिर्न धनकुटामा सहयोग गर्ने घोषणा गरेको जिल्ला अध्यक्ष बालानन्द भुर्तेलले बताउनुभयो । सबै पक्षलाई समेटेर राष्ट्रियताको लागि लडिरहेका केपी ओलीको नेतृत्वमा सरकार बनाउन बाम गठबन्धनको चुनावी अभियानमा समाहित भएको भुर्तेलले बताउनुभयो ।
संयुक्त वाम गठबन्धनको तर्फबाट एमाले धनकुटाका उपाध्यक्ष दुर्गा लिंखा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलकप्रसाद राई र राप्रपा धनकुटाका अध्यक्ष बालानन्द भुर्तेलले हस्ताक्षर गरी जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा संयुक्त बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने बताइएको छ ।
त्यसैगरी प्रदेश सभाको (क) निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका राप्रपाका चक्रबहादुर बुढाथोकीले संयुक्त वाम गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन् । ‘कानुनत मेरो उम्मेदवारी कायम छ । तर म आफै संयुक्त वाम गठबन्धनका उम्मेदवारलाई सूर्य चिन्हमा मत मागेर हिँड्छु’ बुढाथोकीले भन्नुभयो ।
गएको स्थानीय तहको चुनावमा राप्रपाले झण्डै ४ सय ३५ मत प्राप्त गरेको थियो ।